इजरायली लडाकु विमानहरूले मङ्गलबार यमनको राजधानी सानास्थित मुख्य विमानस्थल र विद्युत केन्द्रहरूमा आक्रमण गरेको हो, जसलाई इरान समर्थित हूथी विद्रोहीहरूले पछिल्लो मिसाइल आक्रमणको जवाफी कारवाही मानेका छन् ।
हूथी सञ्चालित मिडिया र इजरायली सेनाले दिएको जानकारी अनुसार सानाको मुख्य विमानस्थल र राजधानी वरपरका केन्द्रीय विद्युत केन्द्रहरू आक्रमणको निशाना बनेका हुन् ।
एएफपीका संवाददाताहरूले विद्रोही नियन्त्रणमा रहेको साना शहरमा थुप्रै विस्फोटको आवाज सुनेका र विमानस्थलसहितका स्थानहरूबाट धुवाँको मुस्लो देखिएको बताएका छन् । इजरायली सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, “हामीले सानास्थित मुख्य विमानस्थलमा रहेको हूथी आतङ्ककारी पूर्वाधारहरूमा आक्रमण गरेका छौं, साथै राजधानी क्षेत्रमा अवस्थित थुप्रै केन्द्रीय विद्युत केन्द्रहरूलाई पनि क्षति पुर्याएका छौं ।”
यसअघि सोमबारको आक्रमणमा होडैदाको सिमेन्ट कारखाना र प्रमुख बन्दरगाहमा हवाई हमला हुँदा कम्तीमा चार जनाको ज्यान गएको र ३५ जना घाइते भएको हूथी स्रोतहरूले जनाएका छन् ।
हूथी मिडियाका अनुसार मङ्गलबारका आक्रमणले सानाको विमानस्थल, तीनवटा विद्युत केन्द्र तथा अमरानस्थित सिमेन्ट कारखाना लक्षित गरेका थिए । यी आक्रमणहरू आइतबार इजरायलको मुख्य विमानस्थलमा भएको हूथी मिसाइल आक्रमणपछि भएका हुन् ।
इजरायली सेनाले मङ्गलबारको आक्रमणअघि यमनी नागरिकहरूलाई तुरुन्त विमानस्थल खाली गर्न र सुरक्षित दूरीमा बस्न चेतावनी दिएको थियो । इजरायली प्रवक्ता अविचाय अड्राईले एक्समा अरबी भाषामा पोस्ट गर्दै भन्नुभयो, “विमानस्थल नछाड्दा तपाईं जोखिममा पर्न सक्नुहुन्छ ।”
गाजामा इजरायलले सैन्य अभियान विस्तार गर्ने योजना तथा स्थानीय बासिन्दाहरूको स्थानान्तरणको तयारीका कारण क्षेत्रीय तनाव पुनः चुलिएको अवस्थामा यी घटनाहरू भएका हुन् ।
हूथीहरूले पछिल्ला आक्रमणको दोष इजरायल र अमेरिका दुवैलाई दिएको भए पनि सोमबारको आक्रमणमा अमेरिका संलग्न नरहेको एक अमेरिकी अधिकारीले बताएको छ । मङ्गलबारको आक्रमणबारे अमेरिकाको कुनै तत्काल प्रतिक्रिया आएको छैन ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            