लाभांश वितरण गर्न के–के शर्त पूरा गर्नुपर्छ ? यस्ताे छ राष्ट्र बैंकले जारी गरेकाे नयाँ निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेक भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ।

सो मार्गदर्शनमार्फत यस्ता संस्थाले मुनाफाको बाँडफाँड गर्दा पालना गर्नुपर्ने पूर्वशर्तहरू, प्रक्रिया तथा आवश्यक कागजातहरूको स्पष्ट व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार लाभांश वितरण गर्न चाहने संस्थाले पहिले आफ्नो वित्तीय अवस्था सबल भएको पुष्टि गर्नुपर्नेछ। यसका लागि संचित मुनाफा ऋणात्मक नरहेको, लाभांश घोषणा मुनाफा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र गरिएको, पर्याप्त नगद मौज्दात रहेको, र कर्जा सम्झौताका शर्तहरूले लाभांश वितरणमा रोक नलगाएको अवस्था अनिवार्य हुनु पर्नेछ। साथै, स्थलगत वा गैरस्थलगत निरीक्षणका क्रममा गम्भीर वित्तीय कमजोरी नदेखिएको हुनुपर्छ।

यस्तै बुदाँ नं ३ मा व्यवस्था भएबमोजिमका कोषहरुमा रकम छुट्याई बाँकी रहेको संचित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन् । लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति संगै लाभांश प्रस्ताव समेत समावेश गरी यस बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ । यस्तै संस्थाको संचित मुनाफाबाट लाभांश वितरण गर्ने स्वीकृतिका लागि लाभांश वितरण गर्न प्रस्ताव गर्दा सञ्चालक समितिको निर्णय, लेखापरीक्षित वित्तीय प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, आवश्यक कोषमा रकम छुट्याएको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण तथा अन्य कानूनी शर्तहरूको पालना गरिएको स्वघोषणा सहित राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ।

राष्ट्र बैंकले यस मार्गदर्शनको उद्देश्य भुक्तानी सेवा प्रदायक संस्थाहरूको लाभांश वितरण प्रक्रियालाई पारदर्शी, सुशासित र जोखिम न्यूनीकरणमुखी बनाउनु रहेको जनाएको छ। यसले संस्थाहरूको वित्तीय अनुशासन मजबुत पार्नुका साथै सुरक्षित, स्वस्थ र सक्षम भुक्तानी प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।