नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नयाँ अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन्। साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरूपमा ढकाललाई अध्यक्षमा चयन गरेको हो। चयनसँगै ढकालले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण गर्नु अघि ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। ढकालसँग नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर कार्य गरेको गहिरो अनुभव रहेको छ। हालैसम्म राष्ट्र बैंकको निर्देशकका रूपमा कार्यरत रहँदै उनले वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन क्षेत्रमा योगदान पुर्याएका थिए।
नवनियुक्त अध्यक्ष ढकाललाई बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत (CEO) देवेन्द्र रमण खनाल, कम्पनी सचिव प्रमोद अधिकारी, व्यवस्थापन समितिका पदाधिकारीहरू तथा प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरूले औपचारिक रूपमा स्वागत गरेका थिए।
वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३०९ शाखामार्फत ७७ वटै जिल्लामा करिब ४७ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आफ्नो सेवा प्रवाहलाई प्रविधिमैत्री, समयसापेक्ष र दिगो बनाउँदै वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै आएको छ।