प्रचण्डद्धारा ‘महाभोज’को प्रचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयपछि आइतबार हलमा गएर ‘महाभोज’ हेरेपछि प्रचार गर्नुभएको छ ।।

पूर्वप्रधानमन्त्री प्रचण्डले काठमाडौँको सिटी सेन्टर हलमा गएर ‘महाभोज’ चलचित्र हेर्नुभएको हो ।

फिल्म निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको उहाँले बताउनुभएको छ ।

महाभोज हेरेपछि उहाँले लेख्नुभएको छ, ‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ।’

यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यलाई प्रचण्डले मनदेखि धन्यवाद दिनुभएको छ ।

साथै उहाले, ‘आजको पुस्ताले यो चलचित्र एकपटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।’ लेख्नुभएको छ

फिल्म हेर्न प्रचण्डसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वउपराष्ट्रपति वर्षमान पुन, नेताहरू पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङलगायत पनि गएका थिए।

दिनेश राउत निर्देशित महाभोजमा दुई पूर्वमाओवादी लडाकु शान्ति प्रक्रियामा आएर सहकारीमार्फत आर्थिक क्रान्तिमा अघि बढेको कथा छ। यो फिल्मलाई सहकारीपीडितले मन पराएका छन्।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङलगायतले अभिनय गरेका छन्।