नेपाल पुनर्बीमा कम्पनीमा महेश बरालको नियुक्ति, सरकारको तर्फबाट प्रतिनिधित्व

नेपाल सरकारका सहसचिव महेश बराललाई नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा नियुक्त गरिएको छ। अर्थ मन्त्रालयको साउन १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको थियो। सोही निर्णयको आधारमा उनले साउन १३ गतेदेखि कम्पनीको नियमावलीको नियम २७ को उपनियम (९२०) बमोजिम समूह ‘क’ अन्तर्गत नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै पद बहाली गरेका छन्।

अर्थमन्त्री विष्णु पौडेलले गरेको निर्णयपछि, बरालले मंगलबार औपचारिक रूपमा कम्पनीमा सञ्चालक सदस्यको जिम्मेवारी सम्हालेका हुन्। बराल यसअघि पनि नेपाल धितोपत्र बोर्ड (SEBON)मा सञ्चालक सदस्यको भूमिकामा रहेका छन्। कम्पनीले विज्ञप्ति जारी गर्दै बरालको प्रशासनिक अनुभव तथा नियामक निकायमा रहेको भूमिकाले पुनर्बीमा कम्पनीको सुशासन र रणनीतिक दिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपाल पुनर्बीमा कम्पनी नेपालकै एकमात्र पुनर्बीमा सेवा प्रदायक कम्पनी हो, जसमा सरकारको उल्लेखनीय स्वामित्व रहेको छ।