अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले वर्षको अन्तिम पटक ब्याजदर घटाएको छ । कमजोर रोजगार बजार र अपेक्षाभन्दा उच्च मुद्रास्फीतिको सामना गर्न फेडले बुधबार आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले घटाएको हो ।
यो कटौतीसँगै अब अमेरिकामा ब्याजदरको दायरा ३.५० प्रतिशतदेखि ३.७५ प्रतिशतसम्म कायम भएको छ ।
मुख्य कारण र फेडको भनाइ
फेडले जारी गरेको वक्तव्यअनुसार रोजगारीको वृद्धि सुस्त देखिएको र बेरोजगारी दर सेप्टेम्बरसम्ममा केही बढेको छ । साथै, मुद्रास्फीति वर्षको सुरुवातको तुलनामा बढेको र अझै पनि उच्च स्तरमै रहेको उल्लेख छ ।
तथ्यांक अभावका बीच निर्णय
यो निर्णय ४३ दिन लामो सरकारी ‘शटडाउन’ का कारण अमेरिकी अर्थतन्त्रसम्बन्धी सरकारी तथ्यांक संकलनमा ठूलो असर परेको समयमा आएको हो । श्रम मन्त्रालयलगायतका मुख्य निकायहरूले आयात–निर्यात मूल्य, उत्पादक मूल्य सूचकांक र रोजगारीसम्बन्धी महत्वपूर्ण तथ्यांक संकलन गर्न सकेका थिएनन् ।
फेडलाई उपलब्ध अन्तिम मुख्य तथ्यांक सेप्टेम्बरको थियो, जसमा बेरोजगारी दर ४.४ प्रतिशत पुगेको र कोर मुद्रास्फीति २.८ प्रतिशतमा बढेको देखाइएको थियो । बुधबार सार्वजनिक भएको नयाँ सरकारी प्रतिवेदनले तेस्रो त्रैमासिकमा अमेरिकी श्रम लागत ०.८ प्रतिशतले बढेको देखाएको छ ।
राजनीतिक दबाब र असहमति
फेडले सधैँ आफूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रयास गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर अझै घटाउन निरन्तर दबाब दिँदै आएका छन् ।
ट्रम्पको दोस्रो कार्यकालको पहिलो ब्याजदर कटौती सेप्टेम्बरमा भएको थियो । फेड बोर्डमा नियुक्त भएका ट्रम्प समर्थक स्टीफेन मिरानले पछिल्ला दुवै बैठकमा २५ आधार बिन्दुको सट्टा ५० आधार बिन्दु कटौतीको माग गर्दै असहमति जनाएका थिए । मिरान हाल ह्वाइट हाउसका आर्थिक सल्लाहकारको भूमिकाबाट बिदामा छन् ।
