नेपाल–चीन सीमामा रहेको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको नाका आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार नाका सञ्चालनका लागि चीन सरकारको सहयोगमा ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो। उक्त पुलको भारवहन क्षमता ५५ टन रहेको छ, जसपछि सवारीसाधन आवतजावत सहज भएको उनले जानकारी दिए।
नाका खुल्नासाथ चिनियाँ सामान आयात प्रक्रिया पनि अघि बढेको छ। सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरूङतर्फ प्रस्थान गरिसकेका छन् भने थप केही सवारीसाधन त्यसतर्फ जान तयारी अवस्थामा रहेका छन्।
यद्यपि, नाका लामो समय बन्द रहँदा भन्सार राजस्वमा ठूलो असर परेको छ। प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सामान आयातबाट सङ्कलन हुने राजस्व चालु आर्थिक वर्षको हालसम्म गत वर्षको तुलनामा २२ अर्ब रुपैयाँभन्दा बढीले घटिसकेको छ।
गत असार २४ गतेको बाढीले गल्छी–रसुवागढी सडक खण्डका दर्जनौँ स्थानमा क्षति पुर्याएको थियो। सडक सुधार आयोजनाले मर्मत गरी ट्र्याक खोले पनि टेवा पर्खाल पर्याप्त रूपमा मजबुत हुन नसक्दा सवारी सञ्चालन जोखिमपूर्ण बनेको थियो। यही कारण सवारीचालकहरूले समस्या समाधान र सुरक्षित सञ्चालनको माग गर्दै आएका थिए।
नाका पुनः सञ्चालनमा आएपछि व्यापार, आपूर्ति र राजस्व संकलनमा क्रमशः सुधार आउने अपेक्षा गरिएको छ। साथै, नेपाल–चीन व्यापारिक आवागमन पुनर्जीवित हुँदै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
