नेपालको जीवन बीमा बजारमा बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनाको तथ्यांक अनुसार कुल बीमालेख संख्या र बीमा शुल्क संकलन दुवैमा बागमती प्रदेशले अन्य ६ वटा प्रदेशलाई उल्लेखनीय रूपमा पछि पारेको छ।
प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म देशभर १ करोड ६१ लाख ६७ हजारभन्दा बढी बीमालेख जारी भएका छन्। तीमध्ये बागमती प्रदेशमा मात्रै १ करोड ३ लाख २१ हजारभन्दा बढी बीमालेख जारी भएका छन्, जुन कुल संख्याको ठूलो हिस्सा हो।
बीमा शुल्क संकलनतर्फ पनि बागमतीको अग्रता स्पष्ट देखिन्छ। जीवन बीमा कम्पनीहरूले ५ महिनामा कुल ७८ अर्ब ७७ करोड ५८ लाख ९७ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्दा बागमती प्रदेशमा मात्र ३५ अर्ब १४ करोड ४१ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।
बीमा शुल्क संकलनमा कोशी र लुम्बिनी प्रदेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कोशी प्रदेशले ९ अर्ब ३३ करोड रुपैयाँ र लुम्बिनी प्रदेशले १२ अर्ब १५ करोड रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन्।
यता, मधेस प्रदेशमा ५ महिनामा ६ लाख ९३ हजारभन्दा बढी बीमालेख जारी भएका छन्। बीमालेख संख्या तुलनात्मक रूपमा कम भए पनि बीमा शुल्क संकलन भने उल्लेखनीय देखिएको छ। मधेसमा यस अवधिमा ७ अर्ब ४ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको प्राधिकरणको तथ्यांक छ।
गण्डकी प्रदेशमा १० लाख २९ हजार ४१० बीमालेख जारी भएका छन् भने कर्णाली प्रदेश जीवन बीमाको पहुँचमा सबैभन्दा कमजोर देखिएको छ। कर्णालीमा जम्मा ५ लाख ८५ हजार ४६२ बीमालेख जारी हुँदा २ अर्ब ३९ करोड ५७ लाख २१ हजार रुपैयाँ मात्र बीमा शुल्क संकलन भएको छ। यो बागमती प्रदेशको तुलनामा करिब १५ गुणा कम हो।
बीमालेख संख्या कर्णालीसँग हाराहारी भए पनि सुदूरपश्चिम प्रदेश बीमा शुल्क संकलनमा भने अघि देखिएको छ। सुदूरपश्चिममा ५ लाख ८७ हजार ६६१ बीमालेख जारी हुँदा ४ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ।
