काठमाडौँ । नबिल बैंक लिमिटेडले पहिलो घर निर्माण वा खरिद गर्न चाहने ग्राहकका लागि लक्षित गर्दै किफायती आवास कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आकर्षक ब्याजदर, लामो कर्जा अवधि र सहज किस्ता सुविधासहितको यो योजनामार्फत घर बनाउने सपना सुरक्षित र भरपर्दो रूपमा पूरा गर्न सकिने जनाएको छ।
बैंकका अनुसार यस योजनाअन्तर्गत न्यूनतम ५.७९ प्रतिशत वार्षिक ब्याजदरबाट आवास कर्जा उपलब्ध गराइनेछ भने अधिकतम ३५ वर्षसम्मको कर्जा अवधि प्रदान गरिनेछ। यसले ग्राहकलाई मासिक किस्ता तिर्न थप सहजता मिल्ने बैंकको विश्वास छ। साथै प्रतिलाख ऋणमा करिब ५५६ रुपैयाँदेखि सुरु हुने मासिक किस्ता व्यवस्थाले मध्यम वर्गका ग्राहकलाई पनि घरधनी बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
यस योजनामा प्रशासनिक शुल्कमा ०.५ प्रतिशत छुट तथा २ लाख रुपैयाँसम्मको जीवनभर निःशुल्क क्रेडिट कार्ड सुविधा पनि समावेश गरिएको बैंकले जनाएको छ। यसले ग्राहकलाई अतिरिक्त वित्तीय सुविधा र सहुलियत प्रदान गर्नेछ।
नबिल बैंकले सुरक्षित, पारदर्शी र ग्राहकमैत्री कर्जा सेवा मार्फत आवास क्षेत्रमा लगानी बढाउँदै घरधनी बन्ने नेपालीहरूको सपना पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। थप जानकारीका लागि ग्राहकहरूले नजिकको नबिल बैंक शाखा वा ग्राहक सेवा नम्बरमार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।
