काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांश वितरण सुरु गरेको छ। कम्पनीको ९औँ वार्षिक साधारण सभाबाट पारित निर्णयअनुसार आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश भुक्तानी प्रक्रिया अघि बढाइएको हो।
कम्पनीले २०८२ पुस २४ गते सम्पन्न साधारण सभाले चुक्ता पुँजीको १०.१४८० प्रतिशत (कर समेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा पुस २४ गतेदेखि क्रमशः जम्मा गर्न थालिएको छ।
कम्पनीले मर्जरका कारण बैंक खाता नम्बर परिवर्तन भएका सेयरधनीहरूको हकमा लाभांश फिर्ता आएको जानकारी दिँदै, त्यस्ता सेयरधनीहरूलाई यथाशीघ्र आफ्नो नयाँ बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउन आग्रह गरेको छ।
नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमअनुसार लाग्ने कुनै पनि शुल्क सेयरधनी स्वयंले बेहोर्नुपर्नेछ। यस्तै, आफ्ना सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंकबाट जारी गरिएको ‘नो अब्जेक्सन लेटर’ वा फुकुवा पत्र सानिमा क्यापिटल लिमिटेडमा बुझाउनुपर्ने कम्पनीले जनाएको छ।
