कृषि बीमामा सहकार्य बढाउने नेकोको पहल

काठमाडौँ । देशको निर्जीवन बीमा क्षेत्रमा विगत तीन दशकदेखि सेवा दिँदै आएको नेको इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सरकारको प्राथमिकतामा रहेको कृषि बीमालाई थप व्यवस्थित र सहज बनाउन कम्पनीले सरोकारवालासँग छलफल गरेको हो ।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका प्रतिनिधिहरूसँगै नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका कृषि विभाग र पशु सेवा विभागका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनका क्रममा देखिएका चुनौती, समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।

नेको इन्स्योरेन्सले केही वर्षअघि “नेकोको अभियान – कृषिमा योगदान” कार्यक्रममार्फत कृषि तथा पशुपन्छी बीमा सेवा सञ्चालन गर्दै आएको छ । कृषि प्रधान मुलुक नेपालमा कृषकहरूको जोखिम न्यूनीकरणका लागि बीमाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै कम्पनीले आफ्ना अनुभवहरू कार्यक्रममा प्रस्तुत गरेको थियो ।

कम्पनीका कर्मचारीहरूले कृषि तथा पशुपन्छी बीमा गर्दा भोगेका व्यावहारिक समस्याहरूबारे जानकारी गराएका थिए । सोही आधारमा नेपाल बीमा प्राधिकरण, कृषि विभाग तथा पशु सेवा विभागका पदाधिकारीहरूले समाधानमुखी सुझाव र उपायहरू प्रस्तुत गरेका थिए ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षता तथा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ तथा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निशा घिमिरेले कम्पनीले उठाएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।

अन्तरक्रिया कार्यक्रमले कृषि तथा पशुपन्छी बीमा क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै यस क्षेत्रको विस्तार र प्रभावकारिता बढाउन सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।