काठमाडौं । स्कोडा अटो फक्सवागन इन्डिया प्राइभेट लिमिटेडले पुणेस्थित आफ्नो अत्याधुनिक चाकन कारखानाबाट नयाँ ‘फक्सवागन टाइगुन’ को उत्पादन आधिकारिक रूपमा सुरु गरेको छ ।
‘मेक इन इन्डिया’ अवधारणालाई आत्मसात गर्दै तयार गरिएको यो नयाँ मोडलमा स्थानीयकरण र आधुनिक प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ । भारतीय तथा अन्तर्राष्ट्रिय बजारका ग्राहकहरूको माग र प्रतिक्रियालाई ध्यानमा राख्दै यस पटक टाइगुनलाई अझ प्रिमियम र सुविधायुक्त बनाइएको बताइएको छ ।
नयाँ टाइगुनको डिजाइनमा व्यापक सुधार गरिएको छ, जसले गाडीलाई पहिलेभन्दा अझ आकर्षक, साहसी र आधुनिक बनाएको छ । ग्राहकहरूको सुझावलाई आधार बनाएर यसमा थप प्रिमियम सुविधाहरू समावेश गरिएको छ, जसले यात्रा अनुभवलाई सहज र व्यावहारिक बनाउने कम्पनीको विश्वास छ ।
फक्सवागनको सिग्नेचर ‘युरोपियन ड्राइभिङ डायनामिक्स’ सहितको यो एसयूभीमा उच्च स्तरको आरामदायी सुविधा प्रदान गरिएको छ । साथै, कुनै सम्झौता नगरी ५-स्टार सुरक्षा मापदण्ड कायम राखिएको कम्पनीले जनाएको छ ।
उत्पादन सुरुवातका अवसरमा स्कोडा अटो फक्सवागन इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत पियुष अरोराले भारतमा विश्वस्तरीय उत्पादन प्रणाली विकास भइसकेको बताए । उनका अनुसार भारतमा उत्पादित गाडीहरूले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गर्नुका साथै निर्यातका लागि रणनीतिक केन्द्रका रूपमा पनि देशलाई स्थापित गरिरहेका छन् ।
फक्सवागन इन्डियाका ब्रान्ड निर्देशक नितिन कोहलीले टाइगुनले कम्पनीको एसयूभी रणनीतिलाई थप मजबुत बनाएको उल्लेख गरे ।
सन् २०२१ मा सार्वजनिक भएदेखि हालसम्म १ लाख ४३ हजारभन्दा बढी टाइगुन उत्पादन भइसकेका छन्, जसमा करिब ३० प्रतिशत गाडी विभिन्न मुलुकमा निर्यात गरिएको कम्पनीले जनाएको छ ।
चाकन फ्याक्ट्रीबाट सुरु गरिएको नयाँ उत्पादनले जर्मन इन्जिनियरिङ, गुणस्तर र प्रिमियम अनुभव खोज्ने ग्राहकहरूको अपेक्षा अझ उचाइमा पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
