कर्जा विस्तारले अर्थतन्त्रमा गति देखिँदै

काठमाडौँ । लामो समयको सुस्ततापछि नेपालको अर्थतन्त्र क्रमिक रूपमा सुधारको बाटोमा अघि बढिरहेको देखिएको छ। बाह्य क्षेत्रको अवस्था सन्तोषजनक बन्दै गए पनि आन्तरिक उत्पादन र मागमा अझै केही सुस्तता कायम रहँदा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक गतिविधि बढाउन कर्जा प्रवाह विस्तार गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न क्षेत्रमा कुल ५८ खर्ब १३ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको ५५ खर्ब ९२ अर्ब रुपैयाँको तुलनामा करिब ४ प्रतिशतले वृद्धि हो।

क्षेत्रगत रूपमा हेर्दा खानीजन्य उद्योगमा सबैभन्दा उच्च वृद्धि देखिएको छ। यो क्षेत्रमा कर्जा ११.७ प्रतिशतले बढेर १३ अर्ब १३ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ थियो। पूर्वाधार निर्माणका लागि कच्चा पदार्थको माग बढ्नु यस वृद्धिको मुख्य कारण मानिएको छ।

त्यस्तै, उपभोग्य कर्जा क्षेत्रमा पनि उल्लेख्य वृद्धि देखिएको छ। व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि प्रवाह हुने कर्जा १०.५ प्रतिशतले बढेर १२ खर्ब ७३ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ थियो।

निर्माण क्षेत्रमा पनि कर्जा प्रवाह ८.८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यसले पूर्वाधार विकास गतिविधि विस्तार भइरहेको संकेत गरेको छ।

यातायात, सञ्चार तथा सार्वजनिक सेवासम्बन्धी क्षेत्रमा ७.८ प्रतिशतको वृद्धि देखिँदै कर्जा ५ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। औद्योगिक मेसिनरी तथा प्रविधि क्षेत्रमा पनि ५.३ प्रतिशतले वृद्धि भई ७६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ पुगेको छ।

उत्पादनमूलक उद्योग क्षेत्रमा करिब ३ प्रतिशतले वृद्धि भई ९ खर्ब ३३ अर्ब ४७ करोड रुपैयाँ लगानी पुगेको छ भने पर्यटन तथा आतिथ्य सेवासँग सम्बन्धित क्षेत्रमा १.८ प्रतिशतको वृद्धि भई ४ खर्ब ९७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

थोक तथा खुद्रा व्यापार क्षेत्रमा भने न्यून वृद्धि देखिएको छ। यस क्षेत्रमा कर्जा प्रवाह ०.८ प्रतिशतले मात्र बढेर १० खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

यातायात उपकरण उत्पादन तथा जडान क्षेत्रमा १.२ प्रतिशतले वृद्धि भई ५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

तर कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा कर्जा प्रवाह २.१ प्रतिशतले घटेर ४ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै वित्त, बीमा तथा घरजग्गा क्षेत्रमा २.७ प्रतिशतले गिरावट आउँदै कर्जा ४ खर्ब २९ अर्ब ४ करोड रुपैयाँमा झरेको छ।

स्थानीय सरकार शीर्षकमा प्रवाह हुने कर्जा पनि ०.४ प्रतिशतले घटेर १ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ। अन्य विविध क्षेत्रमा भने कुल ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ बराबरको कर्जा लगानी रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

समग्रमा बैंकिङ कर्जा विस्तारले अर्थतन्त्रमा क्रमिक सुधार र आर्थिक गतिविधिमा पुनःचलायमान अवस्था देखिएको संकेत गरेको छ।