काठमाडौँ । नेपालको आन्तरिक हवाई सेवामा सक्रिय श्री एयरलाइन्स लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसाय र वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको देखिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कम्पनीको आम्दानी, नाफा र वित्तीय सूचकहरूमा सकारात्मक परिवर्तन देखिएको हो।
कम्पनीको सञ्चालन आम्दानी निरन्तर बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको आम्दानी आर्थिक वर्ष २०२५ मा २५ प्रतिशतले बढेर ५ अर्ब १० करोड ९० लाख रुपैयाँ पुगेको छ। यसबीच आर्थिक वर्ष २०२३ मा ४ अर्ब २६ करोड ४० लाख र २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै कम्पनीले २ अर्ब ५३ करोड ४० लाख रुपैयाँको व्यापार गरिसकेको छ।
आम्दानीसँगै सञ्चालन मुनाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२२ मा ७४ करोड १० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा आर्थिक वर्ष २०२५ मा बढेर १ अर्ब ५२ करोड ९० लाख रुपैयाँ पुगेको छ।
शुद्ध नाफामा झनै तीव्र वृद्धि भएको छ। आर्थिक वर्ष २०२३ मा १६ करोड १० लाख रुपैयाँ रहेको शुद्ध नाफा आर्थिक वर्ष २०२५ मा ८२ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन करिब १३० प्रतिशतको वृद्धि हो। चालु आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा मात्रै कम्पनीले २६ करोड ४० लाख रुपैयाँ नाफा कमाइसकेको छ।
कम्पनीको सञ्चालन मुनाफा दर पनि सुधारिएको छ। आर्थिक वर्ष २०२३ सम्म करिब २१.१५ प्रतिशत रहेको यो दर आर्थिक वर्ष २०२५ मा बढेर २९.९३ प्रतिशत पुगेको छ। यससँगै ब्याज तिर्ने क्षमता पनि बलियो बनेको छ। ब्याज कभरेज अनुपात आर्थिक वर्ष २०२४ मा २.५८ गुणा रहेकोमा २०२५ मा ४.०९ गुणा र चालु वर्षको पहिलो ६ महिनामा ४.२२ गुणा पुगेको छ।
ऋण व्यवस्थापनतर्फ पनि कम्पनीले प्रगति गरेको छ। गेयरिङ अनुपात आर्थिक वर्ष २०२२ मा ४.५५ गुणा रहेकोमा २०२५ मा घटेर २.२५ गुणामा झरेको छ। फाइनान्स लिज समावेश गर्दा यो अनुपात ६.२४ गुणाबाट घटेर २.८३ गुणामा सीमित भएको छ। साथै, कुल दायित्व र नेटवर्थको अनुपात पनि ८.४४ गुणाबाट घटेर ३.६८ गुणामा आएको छ।
तरलताको क्षेत्रमा भने केही चुनौती देखिएको छ। चालु अनुपात आर्थिक वर्ष २०२४ मा ०.९९ गुणा पुगे पनि २०२५ मा घटेर ०.६० गुणामा झरेको छ, जसले तत्कालीन दायित्व व्यवस्थापनमा दबाब देखाउँछ। यद्यपि, ऋण सेवा कभरेज अनुपात १.०९ गुणाबाट बढेर १.३२ गुणा पुगेको छ।
कम्पनी आईपीओ निष्कासनको तयारीमा रहेकाले यी सूचकहरूले लगानीकर्ताहरूलाई सकारात्मक संकेत दिएका छन्।
श्री एयरलाइन्सको प्रगतिमा जहाज विस्तार र इन्धन दक्षता मुख्य कारक बनेका छन्। कम्पनीले हालै तीनवटा क्यू–४०० विमान थपेपछि बजार हिस्सा १९ प्रतिशत पुगेको छ। इन्धन बढी खपत गर्ने सिआरजे जहाजको प्रयोग घटाएर क्यू–४०० जस्ता कम इन्धन खपत गर्ने जहाजको प्रयोग बढाउँदा नाफा वृद्धि भएको हो।
हेलिकप्टर र फिक्स्ड विङ दुवै क्षेत्रमा सञ्चालन तथा अनुभवी व्यवस्थापनले व्यवसायलाई थप विविधीकरण गरेको छ। तर, मध्यपूर्वको तनावका कारण हवाई इन्धनको मूल्य वृद्धि र बढ्दो प्रतिस्पर्धा भने कम्पनीका लागि चुनौतीका रूपमा रहेका छन्।
कम्पनीको सुदृढ वित्तीय अवस्थालाई ध्यानमा राख्दै इन्फोमेरिक्स नेपालले यसको रेटिङ यथावत राखेको छ। कम्पनीको ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि ‘त्रीपल बी माइनस’ र १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘ए थ्री’ रेटिङ प्रदान गरिएको छ।
