डिजिटल युगसँगै बैंक सञ्जालको सन्तुलित रूपान्तरण

काठमाडौँ । एक समय तीव्र गतिमा विस्तार भएको नेपालको बैंकिङ सञ्जाल अहिले क्रमशः सन्तुलनतर्फ उन्मुख हुँदै संकुचनको चरणमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले शाखा र एटीएम बूथ दुवैको संख्या घटाउँदै लैजान थालेका छन् ।

फागुन मसान्तसम्मको विवरणअनुसार पछिल्ला चार महिनामा बैंक तथा वित्तीय संस्थाका शाखा ४६ वटा घटेका छन् । गत कात्तिकसम्म ६ हजार ५२९ शाखा रहेकोमा मंसिरमा २, पुसमा १६, माघमा ९ र फागुनमा १९ शाखा कमी आएको छ । महानगरपालिकाभित्र रहेका शाखा गाभ्ने, स्थानान्तरण गर्ने वा बन्द गर्ने सुविधा केन्द्रीय बैंकले दिएपछि चैत महिनामा पनि शाखा घटाउने क्रम जारी रहेको देखिएको छ ।

एटीएम बूथको संख्या पनि घट्दो क्रममा छ । भदौ मसान्तमा सर्वाधिक ५ हजार २९२ पुगेको एटीएम संख्या त्यसयता ६ महिनामा ३० ले घटेर हाल ५ हजार २६२ मा झरेको छ । डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तार, क्यूआर कोडमार्फत भुक्तानीको सहजता र नगद कारोबारमा आएको कमीले एटीएमको प्रयोग घट्दै गएको छ ।

बैंकहरूले लामो समयसम्म प्रयोगमा नआउने एटीएम बूथ मर्मत गर्नुको सट्टा हटाउने रणनीति अपनाएका छन् । कोभिड–१९ सुरु भएको समयमा (२०७६ फागुन) बैंक शाखा र एटीएमबीचको अन्तर निकै ठूलो थियो । त्यतिबेला करिब ५६ सय शाखा हुँदा एटीएम भने करिब ३६ सय मात्र थिए । तर त्यसपछिका वर्षहरूमा एटीएम तीव्र रूपमा बढे भने शाखा विस्तार तुलनात्मक रूपमा कम रह्यो ।

हाल फागुन मसान्तसम्म आइपुग्दा शाखा संख्या ६ हजार ४८३ र एटीएम ५ हजार २६२ मा सीमित भएका छन् । यसले दुवै सञ्जालबीचको अन्तर क्रमशः घट्दै गएको देखाउँछ ।

इतिहास हेर्दा २०७४ पुसमा शाखा र एटीएमबीचको दूरी सबैभन्दा कम ८३५ मात्र थियो । त्यसबेला देशभर ३ हजार ४७३ शाखा र २ हजार ६३८ एटीएम सञ्चालनमा थिए । त्यसपछि वित्तीय पहुँच विस्तार गर्ने सरकारी रणनीतिअन्तर्गत स्थानीय तहसम्म शाखा विस्तार गरियो, जसले शाखा र एटीएमबीचको सन्तुलन फेरि बिग्रिएको थियो ।

विगतमा एकै महिनामा सयौँ शाखा र एटीएम थपिने अवस्था समेत देखिएको थियो । २०७५ वैशाखमा २२१ नयाँ शाखा खुलेका थिए भने २०७४ पुसमा २०० शाखा थपिएका थिए । त्यस्तै, २०७४ पुसमै ३५१ एटीएम बूथ थपिएका थिए । तर पछिल्ला वर्षहरूमा भने घट्ने प्रवृत्ति देखिँदै आएको छ । २०७९ पुसमा मात्रै ६५ शाखा र ९१ एटीएम बूथ घटेका थिए ।

यसरी ‘प्लस–माइनस’को उतारचढावपछि अहिले बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सञ्जाललाई आवश्यकताअनुसार सानो तर प्रभावकारी बनाउने रणनीति लिएको देखिएको छ । डिजिटल बैंकिङको विस्तारसँगै भौतिक पूर्वाधारको पुनर्संरचना भइरहेको विश्लेषण गरिएको छ ।