काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो अभियानलाई थप प्रभावकारी बनाउँदै नयाँ वर्ष २०८३ को अवसरमा “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ ।
उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गर्नुभएको हो । बैंकले वित्तीय साक्षरता केवल जानकारी दिने विषय नभई व्यवहार परिवर्तन गराउने प्रक्रिया भएको उल्लेख गर्दै कथा र भिडियोमार्फत यसलाई जनमानससम्म सरल र प्रभावकारी रूपमा पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
कथा संग्रहमा दैनिक जीवनसँग सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग तथा दीर्घकालीन आर्थिक योजना जस्ता विषयलाई रोचक र सन्देशमूलक कथामार्फत प्रस्तुत गरिएको छ । बैंकका अनुसार यी सामग्रीले आम मानिसलाई व्यवहारमै उपयोगी ज्ञान दिनेछ ।
यो कथा संग्रह देशभरका विद्यालयहरूमा वितरण गरिने योजना रहेको छ । यसले विद्यार्थीहरूमा सानै उमेरदेखि बचत गर्ने बानी, वित्तीय अनुशासन र जिम्मेवार खर्च गर्ने संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यसैगरी, “अल्फा ग्रो सेभिङ्स अकाउन्ट” खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप खुत्रुकेसँगै कथा संग्रह प्रदान गर्ने व्यवस्था गरिएको छ । यस कदमले बचत संस्कृतिलाई व्यवहारमै लागू गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
अभियानको अर्को विशेष पक्षका रूपमा कथा संग्रहलाई भिडियोमा रूपान्तरण गरिएको छ । भिडियो सामग्रीमा कथाका पात्रहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्दै वित्तीय सन्देशलाई अझ सहज र आकर्षक बनाइएको छ । बैंकले विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै यस्ता सामग्री तयार गरेको जनाएको छ ।
कथा आधारित भिडियोहरू प्रत्येक हप्तामा दुई दिन बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन् । बैंकले वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस अभियानमार्फत समुदायस्तरमै वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य बैंकले राखेको छ ।
