काठमाडौँ । सार्वजनिक पुँजीलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्दै एसवाई प्यानल नेपालले आवासीय निर्माण क्षेत्रमा आधुनिक प्रविधिको विस्तार गर्ने पहललाई तीव्र बनाएको छ । चितवनको रत्ननगरमा कम्पनीले नयाँ युपिभिसी प्रोफाइल उद्योग स्थापना गर्ने कार्य सुरु गरेको छ ।
रत्ननगर नगरपालिका–१४ पिठुवामा सोमबार आयोजित कार्यक्रममा करिब ६० करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको उद्योगको शिलान्यास गरिएको हो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङ सङ–पुले संयुक्त रूपमा उद्योगको जग बसाल्दै परियोजनाको औपचारिक सुरुवात गरेका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासनमार्फत संकलित पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने रणनीतिअनुसार यो उद्योग स्थापना गर्न लागेको जनाएको छ । आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
यस उद्योगले झ्याल, ढोका तथा पार्टेसनका लागि आवश्यक उच्च गुणस्तरका युपिभिसी प्रोफाइल उत्पादन गर्नेछ । स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्दा निर्माण सामग्रीको लागत घट्ने र उपभोक्ताले सुलभ मूल्यमा टिकाउ सामग्री पाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मेयर प्रलाद सापकोटाले उद्योग स्थापनाले स्थानीय रोजगारी सिर्जना गर्दै नगरको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले उद्योगमा स्थानीय तथा विपन्न समुदायका युवालाई प्राथमिकता दिन आग्रह गर्दै उद्योगहरूको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारले लिने प्रतिबद्धता जनाए ।
२०७४ सालदेखि पिठुवामै सञ्चालनमा रहेको कम्पनीले आफ्ना उत्पादनहरू भारत र भुटानमा समेत निर्यात गर्दै आएको छ । कम्पनीका निर्देशक अनिल सापकोटाका अनुसार नयाँ उद्योगले स्थानीय स्तरमा सीप विकास, रोजगारी विस्तार र औद्योगिक सुदृढीकरणमा थप योगदान पुर्याउनेछ ।
आधुनिक प्रविधिको प्रयोगले घरहरूको टिकाउपन बढाउनुका साथै ध्वनि र तापक्रम नियन्त्रणमा सहयोग पुग्ने भएकाले आवासीय क्षेत्रलाई सुरक्षित र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ । कम्पनीले स्थानीय जनशक्तिलाई तालिममार्फत दक्ष बनाउँदै उद्योगमार्फत अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेको जनाएको छ ।
