काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी २९ वैशाखभित्र सार्वजनिक गर्ने गरी तयारी तीव्र पारेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार हालसम्म १० जिल्लाका उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न भइसकेको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले अन्य जिल्लाबाट पनि मार्कस्लिप र उत्तरपुस्तिका आउने क्रम जारी रहेको जानकारी दिएका छन् । उनले मन्त्रालयको निर्देशनअनुसार एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित सार्वजनिक बिदाका दिनसमेत ‘डाटा इन्ट्री’ कार्य भइरहेको बताए ।
यस वर्ष नतिजा छिटो सार्वजनिक गर्न विभिन्न सुधारात्मक कदम अपनाइएको छ । विगतमा तीन महिनासम्म लाग्ने नतिजा यसपटक एक महिनामै निकाल्ने लक्ष्य राखिएको छ । उत्तरपुस्तिका परीक्षण प्रक्रिया छिटो सम्पन्न गर्न परीक्षा केन्द्रमै परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
बोर्डका अनुसार ५ वैशाखभित्र सबै जिल्लाका मार्कस्लिप र आवश्यक कागजात केन्द्रमा आइपुग्ने अपेक्षा गरिएको छ । शिक्षा मन्त्रालयले जारी गरेको ‘माध्यमिक शिक्षा परीक्षा सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२’ अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइएको छ ।
यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ४ लाख ४१ हजार ५६६ नियमिततर्फ र ७० हजार ८५५ ग्रेड वृद्धितर्फका परीक्षार्थी रहेका छन् । जापानस्थित केन्द्रबाट २३ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा १९ चैतदेखि २९ चैतसम्म सञ्चालन गरिएको थियो भने देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएको थियो ।
नयाँ निर्देशिकाअनुसार प्रदेशगत रूपमा नतिजा सार्वजनिक गर्ने व्यवस्था भए पनि यस वर्ष भने केन्द्रबाटै एकीकृत रूपमा नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बोर्डले जनाएको छ ।
