बागमती । आर्थिक सङ्कटका कारण पटक–पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ ।
रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै सो उद्योगलाई पनि पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने माग उठेको हो । आर्थिक समस्या र सञ्चालन अवरोधका कारण उद्योगले कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्था भोग्दै आएको छ ।
उद्योगलाई नियमित सञ्चालनमा ल्याउने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिँदै संघीय तथा बागमती प्रदेश सरकारसँग निरन्तर पहल गरिरहेको बताएका छन् ।
उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा उद्योग केवल भदौ १९ देखि २४ गतेसम्म पाँच दिन मात्र सञ्चालन भएको थियो । सो अवधिमा करिब २ हजार ५०० टन क्लिङ्कर र झण्डै ३० हजार बोरा सिमेन्ट उत्पादन गरिएको निमित्त महाप्रबन्धक डा. शिवनारायण साहले जानकारी दिएका छन् ।
गत चैत १३ गतेदेखि क्लिङ्कर उत्पादन प्रक्रिया पुनः सुरु भए पनि कच्चा पदार्थको अभावका कारण फेरि रोकिएको छ । कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता तिर्न नसक्दा आपूर्ति हुन नसकेको र उद्योग पुनः बन्द हुने अवस्थामा पुगेको उनले बताए ।
उद्योगमा हाल १६६ स्थायी कर्मचारी, १०० दैनिक ज्यालादारी श्रमिक र ५२ सुरक्षाकर्मी गरी ३१८ जना कार्यरत छन् । विद्युत् महसुलसमेत लामो समयदेखि तिर्न नसक्दा करिब ३० देखि ४० करोड रुपैयाँ बक्यौता पुगेको उद्योग प्रशासनले जनाएको छ ।
विसं २०३३ मा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ सालदेखि उत्पादन सुरु गरेको थियो । तर पुराना उपकरण र वित्तीय समस्याका कारण उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको प्राविधिकहरूको भनाइ छ ।
सरकारले रुग्ण उद्योग पुनः सञ्चालनको नीति अघि सारेसँगै हेटौँडा सिमेन्ट उद्योगलाई पनि दिगो समाधानसहित पुनर्जीवित गर्नुपर्ने माग बलियो बन्दै गएको छ ।
