काठमाडौँ । बजारमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज बुधवार ४० अर्ब रुपैयाँ बजारबाट निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले ५६ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो । बजारमा बढी भएको पैसालाई व्यवस्थापन गर्न यो कदम चालिएको हो ।
निक्षेप संकलनको बोलकबोल तथा निष्कासन प्रक्रिया आजै सम्पन्न हुने जनाइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत नै निर्धारण हुने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा पूरा हुने गरी रकम बोलकबोल गर्न सक्नेछन् ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निरन्तर यस्ता उपकरण प्रयोग गर्दै आएको छ, जसले वित्तीय प्रणालीलाई सन्तुलित बनाउने अपेक्षा गरिएको छ ।
