काठमाडौँ । काठमाडौँको कमलादीस्थित स्काईवाक नेपाल ले नयाँ वर्ष २०८३ को अवसरमा विशेष आकर्षक छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले वैशाख १ देखि १५ गतेसम्मका लागि टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो।
पहिले एक हजार रुपैयाँ पर्ने स्काइवाक टिकट अब ५०० रुपैयाँमै उपलब्ध हुनेछ। कम्पनीका अनुसार यो अफर सीमित समयका लागि मात्र लागू हुनेछ।
स्काईवाक नेपालका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले नयाँ वर्षलाई विशेष बनाउन यो योजना ल्याइएको बताउँदै परिवार, साथीभाइ तथा पर्यटकलाई सहज रूपमा घुमघामको अवसर मिल्ने उल्लेख गरे।
१३ रोपनी क्षेत्रफलमा निर्माण गरिएको ७८ दशमलव ५ मिटर अग्लो यो टावर दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा रहनेछ। टिकट टावरमै खरिद गर्न सकिने व्यवस्था छ।
टावरको २५औँ तलामा रहेको ग्लास स्काईवाकमा हिँड्दा आकाशमै हिँडेजस्तो अनुभूति हुन्छ। यहाँबाट काठमाडौँ उपत्यकाका ऐतिहासिक स्थलहरू—घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाइस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट र सिंहदरबार लगायतका दृश्य अवलोकन गर्न सकिन्छ।
निर्माण संरचनाका हिसाबले स्काईवाकमा प्रतिवर्गमिटर ५०० किलो भार बहन क्षमताको मजबुत सिसा प्रयोग गरिएको छ। जमिनबाट ३५ मिटर तलसम्म ५८ वटा फलामका डण्डी प्रयोग गरी आधार संरचना बनाइएको छ।
टावरमा दुई वटा लिफ्ट छन्, जसले एक पटकमा ४५ जनासम्मलाई माथि पुर्याउन सक्छ। माथिल्लो भागमा एकैपटक करिब ५०० जनासम्म अट्ने क्षमता रहेको कम्पनीले जनाएको छ।
स्काईवाक परिसरमा साना कार्यक्रमका लागि एमपी थिएटरको सुविधा पनि छ। सूर्योदय र सूर्यास्त अवलोकन, योग तथा मनोरञ्जनका लागि समेत यो स्थान उपयुक्त मानिन्छ।
