बजेट कार्यान्वयनमा सुधारका संकेत, समग्र खर्च ५४ प्रतिशत नाघ्यो

काठमाडौँ । सरकारको बजेट कार्यान्वयनमा मिश्रित प्रगति देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म कुल बजेट खर्च ५३.९७ प्रतिशत पुगेको छ भने राजस्व संकलन करिब ६० प्रतिशत हाराहारीमा रहेको छ।

महालेखा नियन्त्रक कार्यालय का अनुसार यस अवधिमा सरकारले कुल १० खर्ब ५९ अर्ब ९५ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ। कुल बजेट लक्ष्यको तुलनामा यो ५३.९७ प्रतिशत हो।

चालु खर्चतर्फ भने सरकारले ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ लक्ष्य राखेकोमा ७ खर्ब ४७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ, जुन ६३.३ प्रतिशत हो।

तर पुँजीगत खर्च भने अपेक्षाकृत सुस्त देखिएको छ। यस अवधिमा पुँजीगत खर्च ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्र भएको छ, जुन वार्षिक लक्ष्यको २३.५८ प्रतिशत हो। यस शीर्षकमा कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुँजीगत खर्च ३२.२४ प्रतिशत रहेको थियो, जसको तुलनामा यस वर्ष केही कमी देखिएको छ।

राजस्व संकलनतर्फ भने सरकारले चैत मसान्तसम्म ८ खर्ब ८६ अर्ब २८ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ। यो वार्षिक लक्ष्यको करिब ६० प्रतिशत हो।

आम्दानी र खर्चको तुलनामा सरकारको खर्च करिब १ खर्ब ५० अर्ब रुपैयाँले बढी देखिएको छ। चैत मसान्तसम्म सरकारले ९ खर्ब ७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब १६ अर्ब २३ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक लक्ष्य ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको तुलनामा हो।

समग्रमा बजेट खर्च र राजस्व संकलन दुवैमा प्रगति देखिए पनि पुँजीगत खर्चको सुस्त गतिले विकास परियोजनाको कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।