काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरूलाई समाजका ऊर्जा, अनुशासन र आदर्शका प्रतीक भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले राष्ट्रको सार्वभौमिकता र सेनाको संस्थागत हितमा उनीहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।
प्रधानसेनापति सिग्देलले अवकाशप्राप्त सैनिकलाई समाजमा जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुँदै स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमी बन्न आग्रह गरे । उनले नेपाली सेनाको कल्याणकारी कोषअन्तर्गतका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा सीप विकासका क्षेत्रमा पहुँच विस्तार गरिँदै आएको जानकारी दिए ।
उनले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाले खेलेको भूमिकाले संस्थालाई स्वदेश र विदेशमा विश्वसनीय तथा सम्मानित बनाएको बताए । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको पेशागत दक्षता र समन्वयप्रति उनले प्रशंसा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उनले अवकाशप्राप्त सैनिकहरूको उत्साह, अनुशासन र राष्ट्रप्रतिको प्रतिबद्धता अझै जीवित रहेको उल्लेख गर्दै यस्ता पुनर्मिलन कार्यक्रमले भावनात्मक सम्बन्ध सुदृढ बनाउने बताए । उनले कल्याणकारी कार्यलाई विवरणमुखीभन्दा परिणाममुखी बनाउँदै आत्मनिर्भर र आयमूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने धारणा राखे ।
मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य सहभागिता रहेको उक्त सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नारासहित सम्पन्न भएको हो ।
