काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सेवा सुदृढीकरण तथा सञ्चालन व्यवस्थापनलाई प्रभावकारी बनाउन ठूलो संख्यामा शाखा कार्यालय समायोजन गरेको छ । बैंकले एकैपटक चार वटा प्रदेशका ४४ वटा शाखा कार्यालय समायोजन गर्दै सेवा संरचना पुनः व्यवस्थित गरेको हो ।
समायोजनअनुसार काठमाडौं उपत्यकाका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, बोहोराटार, माछापोखरी, ढुंगेधारा–नर्सरी चोक, न्युरोड खिचापोखरी, भोटाहिटी, किलागल, तिन्चुली, चाबहिल, नरेफाट, बालुवाटार, अनामनगर, शंखमुल, मध्यबानेश्वर, खसीबजार, कपन, गोंगबु, सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुल शाखा कार्यालय बन्द भएका छन् ।
त्यसैगरी ललितपुरका लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को, खुमलटार, खोकना तथा चितवनको बसेनी शाखा पनि समायोजन गरिएको छ । कास्की जिल्लामा रहेका पावरहाउस चोक, बुढीबजार, बाझापाटन, महेन्द्रपुल (पोखरा), बगर र बिरौटा शाखा कार्यालयहरू पनि समायोजनमा परेका छन् ।
यसैगरी मोरङको विराटनगर मेनरोड, हाटखोला, रानी मिल्स एरिया तथा पर्साको लिंक रोड र पावरहाउस चोक शाखा पनि समायोजन गरिएको बैंकले जनाएको छ । यससँगै काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लामा रहेका उल्लेख्य संख्याका शाखा संरचना पुनः व्यवस्थापन गरिएको हो ।
बैंकले वैशाख ३ गतेदेखि लागू हुने गरी उक्त शाखा कार्यालयहरू समायोजन गरेको हो । समायोजित शाखाहरू पूर्ण रूपमा बन्द रहनेछन् भने सेवाग्राहीलाई नजिकका सञ्चालनमा रहेका शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।
