काठमाडौँ । Samsung नेपालले आफ्नो ‘ग्यालेक्सी ए’ सिरिजलाई थप विस्तार गर्दै ‘ग्यालेक्सी ए५७ ५जी’ र ‘ग्यालेक्सी ए३७ ५जी’ सार्वजनिक गरेको छ। कम्पनीले उन्नत क्यामेरा, स्मार्ट फिचर र आकर्षक डिजाइनमार्फत दैनिक मोबाइल प्रयोगलाई अझ सहज बनाउने उद्देश्य राखेको जनाएको छ।
कम्पनीले उपभोक्तालाई लक्षित गर्दै पहिलेको १२ महिनाको किस्ता योजनालाई विस्तार गरी अब २४ महिनासम्मको किस्ता सुविधा उपलब्ध गराएको छ। यो सुविधा ‘सामसङ इन्स्टा फाइनान्स’ सेवा अन्तर्गत Hulas Fin Serve Hire Purchase Ltd. मार्फत प्राप्त गर्न सकिनेछ। यसका लागि प्रक्रिया सरल बनाइएको छ र नागरिकता मात्रै भए पुग्ने कम्पनीले जनाएको छ।
नयाँ ‘ग्यालेक्सी ए’ सिरिजमा ‘एन्हान्स्ड अवसम इन्टेलिजेन्स’ प्रविधि समावेश गरिएको छ, जसले स्मार्ट अन्तरक्रिया, उत्पादकत्व र सामग्री सिर्जनालाई अझ सहज बनाउने दाबी गरिएको छ। यसअन्तर्गत ‘भ्वाइस ट्रान्सक्रिप्सन’ फिचरले रेकर्डिङ, कल तथा भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न सहयोग गर्छ भने ‘एआई सेलेक्ट’ले स्क्रिनमा रहेका सामग्री छिटो चयन गरी एपहरूबीच सजिलै सार्न सकिने सुविधा दिन्छ।
त्यस्तै, ‘अब्जेक्ट इरेजर’, ‘फिल्टर’ र ‘एडिट सजेसन’ जस्ता क्रिएटिभ टुलहरूले फोटो सम्पादनलाई सहज बनाउँछन्। ‘ग्यालेक्सी ए५७ ५जी’ मा ‘बेस्ट फेस’ र ‘अटो ट्रिम’ जस्ता थप विशेषता पनि समावेश गरिएको छ।
क्यामेरा पक्षमा दुवै मोडेलमा ५० मेगापिक्सेल मुख्य क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप दिइएको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न सहयोग गर्छ। ‘एन्हान्स्ड आईएसपी’ र ‘नाइटोग्राफी’ प्रविधिका कारण कम प्रकाशमा पनि उज्यालो र प्राकृतिक फोटो तथा भिडियो लिन सकिन्छ। साथै, एआईमा आधारित सब्जेक्ट रिकग्निसनले राम्रो पोर्ट्रेट, प्राकृतिक छालाको टोन र उत्कृष्ट ब्याकग्राउन्ड छुट्याउने क्षमता प्रदान गर्छ।
प्रदर्शनतर्फ, अपग्रेड गरिएको सीपीयू, जीपीयू र एनपीयूका कारण मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट निर्माण अझ स्मूथ हुने बताइएको छ। ५,००० एमएएच ब्याट्रीले दुई दिनसम्म टिक्ने क्षमता राख्छ भने ‘ग्यालेक्सी ए५७ ५जी’ मा ‘सुपर फास्ट चार्जिङ २.०’ सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
