काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार खुद ब्याज आम्दानीमा आएको कमीका कारण संस्थाको खुद नाफामा सामान्य गिरावट देखिएको छ।
समीक्षा अवधिसम्म संस्थाले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६ करोड ९८ लाख रुपैयाँको तुलनामा ६.०८ प्रतिशतले कम हो।
संस्थाको मुख्य आम्दानीतर्फ पनि गिरावट देखिएको छ। खुद ब्याज आम्दानी १३.६५ प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ भने खुद सञ्चालन आम्दानी ६.४४ प्रतिशतले घटेर १३ करोड १० लाख रुपैयाँमा पुगेको छ।
यद्यपि संस्थाको वित्तीय संरचना सुदृढ देखिएको छ। वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ रहेको छ, जसका आधारमा लाभांश क्षमता ७.२३ प्रतिशत कायम भएको छ।
रिजर्भ कोष १८ करोड ३१ लाख रुपैयाँबाट बढेर १९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ ५ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ।
जोखिम व्यवस्थापनतर्फ निष्क्रिय कर्जा (एनपीएल) ३.१३ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ। सम्भावित जोखिम व्यवस्थापनका लागि २ करोड १६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याइएको छ।
मुख्य वित्तीय सूचकअनुसार प्रति सेयर आम्दानी (ईपीएस) ८.४६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२४.०७ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ८२.९३ गुणा रहेको छ। तरलता अनुपात २०.१७ प्रतिशत र प्रति सेयर कुल सम्पत्ति ५७८.०६ रुपैयाँ रहेको संस्थाले जनाएको छ।
