काठमाडौं । एनसेल ले एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो अफरमार्फत विद्यार्थीहरूले आफ्नो रोजाइअनुसार मोबाइल नम्बर छनोट गर्न सक्ने सुविधा पाउनेछन्। साथै सिमसँगै २ जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ५० मिनेट टक टाइम र २८ दिनका लागि ‘मेरो स्कुल’ तथा ‘गेमिङ प्रिमियर लिग (जीपीएल)’ मा निःशुल्क पहुँच उपलब्ध हुनेछ।
‘मेरो स्कुल’ डिजिटल लर्निङ प्लेटफर्ममार्फत विद्यार्थीहरूले पाठ्यक्रमसँग सम्बन्धित शैक्षिक भिडियो सामग्रीहरू हेर्न सक्नेछन् भने ‘जीपीएल’ पोर्टलमा एचटीएमएल आधारित विभिन्न गेमहरूको मजा लिन सकिनेछ।
त्यस्तै, ‘पहिलो सिम’ प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्ती मा पनि निःशुल्क पहुँच पाउनेछन्, जसमा डाटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ। साथै ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटा पनि प्रदान गरिनेछ।
विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट यो सिम लिन सक्नेछन्। सिम लिनका लागि एसईई प्रवेशपत्र र आमा वा बाबुको नागरिकताको फोटोकपी सहित नजिकको एनसेल सेन्टरमा जानुपर्ने र आवश्यक प्रमाणीकरणपछि सिम सक्रिय हुने कम्पनीले जनाएको छ।
एनसेलले एसईई विद्यार्थीहरूलाई सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित यो लोकप्रिय अफरलाई निरन्तरता दिएको हो। कम्पनीका अनुसार यसले विद्यार्थीहरूलाई परिवार, साथीभाइसँग सम्पर्कमा रहन र डिजिटल संसारसँग जोडिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
