बाइकर्स जात्रामा सफल रक्तदान अभियान

काठमाडौं । जियोन ओभरल्याण्डद्वारा आयोजित ‘बाइकर्स जात्रा’ कार्यक्रममा खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेण्डस र लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अटो नेपाल पत्रिकाले सहयोग गरेको थियो।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालका आगामी लायन वर्ष २०२६/२७ का लागि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन कुश प्रसाद मल्ली तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन कृष्ण प्रसाद शर्माको उपस्थिति रहेको थियो।

उक्त रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए। सहभागी सबैको सक्रिय सहयोगका कारण कार्यक्रम अत्यन्त सफल भएको लायन्स क्लबकी अध्यक्ष क्रिष्टिना ताम्राकारले जानकारी दिइन्।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत सञ्चालित यस कार्यक्रममा सिनियर लायन्स लिडरहरू तथा अन्य सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको डिष्ट्रिक्ट कर्पोरेट कम्युनिकेशन चिफ लायन्स लिडर रोशनकुमार श्रेष्ठले बताएका छन्।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक परेका बिरामीहरूका लागि रगतको आपूर्ति सुनिश्चित गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।