बुटवलमा भव्य नयाँ वर्ष उत्सव सम्पन्न

बुटवल । हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा “बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशन” भव्य रूपमा सम्पन्न गरेको छ। चैत ३० गते (१३ अप्रिल) खुल्ला आकाशमुनि होटलको स्विमिङ पुल परिसरमा आयोजित उक्त उत्सवले बुटवललाई सांगीतिक तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा थप उचाइमा पुर्‍याएको छ।

“एक रात, एक मञ्च, दुई आइकन” नारासहित आयोजना गरिएको कार्यक्रममा २५० भन्दा बढी पाहुनाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। आकर्षक ‘पुलसाइड सेटअप’ र रङ्गीचङ्गी बत्तीहरूको सजावटले पुरानो वर्ष २०८२ लाई बिदाइ गर्दै नयाँ वर्ष २०८३ लाई स्वागत गर्न जादुमय वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमको सुरुवात ऊर्जावान नृत्य प्रस्तुतिबाट भएको थियो, जसले साँझको माहोललाई उत्साहित बनाएको थियो। त्यसपछि नेपालको प्रख्यात इन्स्ट्रुमेन्टल ब्यान्ड कुटुम्बले आफ्ना सुमधुर र मौलिक धुनमार्फत उपस्थित पाहुनाहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रमको अर्को आकर्षणका रूपमा नेपाली पप संगीतका चर्चित गायक नवीन के भट्टराईले आफ्नो प्रस्तुति दिएका थिए। उनका लोकप्रिय लाइभ गीतहरूमा दर्शकहरू रमाएका थिए भने डान्स फ्लोरमा सहभागीहरूले भरपूर मनोरञ्जन लिएका थिए।

सांगीतिक कार्यक्रमसँगै पाहुनाहरूले अनलिमिटेड लाइभ फुड काउन्टरमार्फत विविध स्वादिष्ट परिकारहरूको स्वाद लिएका थिए। साथै, प्रिमियम मदिरा तथा पेय पदार्थको व्यवस्था पनि आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रमको सफलताबारे प्रतिक्रिया दिँदै हायात प्लेस बुटवलका महाप्रबन्धक तुषार नगरले २५० भन्दा बढी पाहुनाहरूको सहभागिताले आफूहरू उत्साहित भएको बताए। कुटुम्ब र नवीन के भट्टराईजस्ता प्रतिष्ठित कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको उल्लेख गर्दै उनले उत्कृष्ट सांगीतिक अनुभव, स्वादिला परिकार र उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्न सफल भएको बताए।

साँझको मुख्य आकर्षण मध्यरातको ‘काउन्टडाउन’ रह्यो। घडीले १२ बज्नेबित्तिकै हुटिङ र उत्साहपूर्ण माहोलबीच नयाँ वर्ष २०८३ को भव्य स्वागत गरिएको थियो।

हायात प्लेस बुटवलले पश्चिम नेपालमा हस्पिटालिटी तथा लाइफस्टाइल कार्यक्रमहरूलाई नयाँ आयाम दिँदै आएको छ। यसपटकको न्यू इयर्स इभ उत्सवको सफल आयोजनाले होटलको विश्वस्तरीय सेवा र उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।