नेपाल वायु सेवाको अन्तर्राष्ट्रिय विस्तार तीव्र

काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान सञ्चालन गर्ने तयारी अघि बढाएको छ। निगमले यसका लागि आवश्यक प्रक्रिया सुरु गर्दै सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरेको जनाएको छ।

निगमका अपरेसन विभाग निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालका अनुसार छिमेकी देश बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले हालसम्म उडान भर्न नसकेको अवस्थालाई ध्यानमा राख्दै अब उक्त सेवा विस्तारको तयारी गरिएको हो। अध्ययन समितिले तयार पार्ने प्रतिवेदनका आधारमा उडान सञ्चालनबारे अन्तिम निर्णय गरिने निगमले जनाएको छ।

हाल बङ्गलादेशबाट काठमाडौँमा नियमित उडान हुँदै आएको छ भने नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान सञ्चालन गर्दै आएको छ। तर, राष्ट्रिय ध्वजावाहकको तर्फबाट भने सो रुटमा उडान हुन सकेको छैन।

यसैबीच, निगमले आफ्नो काठमाडौँ–दिल्ली–काठमाडौँ उडान सेवा पनि विस्तार गरेको छ। गत चैत १७ गतेदेखि लागू हुने गरी सो रुटमा सातामा थप तीन दिन उडान थपिएको छ। यससँगै अब उक्त रुटमा साप्ताहिक १० उडान सञ्चालन भइरहेका छन्।

यस्तै, निगमले आफ्नो कार्गो सेवा थप व्यवस्थित र प्रभावकारी बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम अध्ययन गर्न टास्कफोर्स गठन गरेको जनाएको छ। यस कदमले कार्गो व्यवसायलाई थप सुदृढ र उपलब्धिमूलक बनाउने अपेक्षा गरिएको छ।