एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङ्ग सुधार

काठमाडौँ । इक्रा नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेडको क्रेडिट रेटिङ्गमा सुधार गरेको छ। कम्पनीको वित्तीय अवस्था मजबुत बन्दै गएको र सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार देखिएको आधारमा रेटिङ्ग अपग्रेड गरिएको इक्रा नेपालले जनाएको छ।

नयाँ रेटिङ्ग अनुसार कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग ‘LBB+’ बाट सुधार भई ‘LBBB-’ कायम भएको छ। त्यस्तै, अल्पकालीन रेटिङ्ग पनि ‘A4+’ बाट उक्लिएर ‘A3’ पुगेको छ।

कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङ्ग क्षेत्रमा प्रभावकारी रिकभरी प्रणाली र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएकाले सम्पत्ति गुणस्तरमा सुधार आएको उल्लेख गरिएको छ।

रेटिङ्ग सुधारका प्रमुख आधारहरूमा स्थिर नाफा, सञ्चालन खर्चमा नियन्त्रण र निरन्तर नेट इन्ट्रेस्ट मार्जिन कायम रहनु रहेका छन्। साथै, कम्पनीले ९६ प्रतिशतको बलियो प्रोभिजन कभरेज कायम गरेको छ, जसले सम्भावित वित्तीय जोखिम सामना गर्ने क्षमता बलियो बनाएको छ।

कर्जा पोर्टफोलियो विविधीकरण, स-साना खण्डमा वितरण र मध्यम लोन–टु–भ्याल्यु (LTV) अनुपातमा ध्यान दिइएको कारण पनि जोखिम न्यूनीकरणमा सहयोग पुगेको इक्राले जनाएको छ।

एमएडब्लू ग्रुपको हिस्सा रहेको यो कम्पनीले समूहको पाँच दशक लामो अटोमोबाइल क्षेत्रमा रहेको अनुभव, बलियो बजार पहुँच र प्रमुख ब्रान्डहरूसँगको साझेदारीका कारण व्यवसाय विस्तारमा सहजता पाएको छ।

सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड नेपाल राष्ट्र बैंकको नियमन अन्तर्गत सञ्चालन हुँदै आएको छ। मोरङको विराटनगरमा केन्द्रीय कार्यालय र काठमाडौँको त्रिपुरेश्वरमा शाखा कार्यालय रहेको कम्पनीले हायर पर्चेज सेवा प्रदान गर्दै आएको छ।