काठमाडौं । सरकारले कृषि उपज खरिदपछि २५ दिनभित्रै अनिवार्य रूपमा किसानलाई भुक्तानी गर्न निर्देशन दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै कृषि उपज खरिद गर्ने व्यापारी, संघसंस्था तथा सम्बन्धित निकायहरूलाई यस्तो निर्देशन दिएको हो ।
सरकारको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अन्तर्गत किसानको पसिनाको उचित मूल्य सुनिश्चित गर्नुका साथै समयमै भुक्तानी दिलाउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार कृषि उपज खरिद गर्दा हुने उधारो कारोबार अब अधिकतम २५ दिनभित्र सीमित गर्नुपर्नेछ । तोकिएको अवधिभित्र भुक्तानी नगरेमा खरिदकर्ताले किसानलाई बाँकी रकममा ब्याजसमेत उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।
मन्त्रालयले यो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै निजी फर्म, उद्यमी, सहकारी, सरकारी तथा निजी संस्थान र कम्पनीहरूलाई सूचित गरेको छ । कृषि क्षेत्रमा हुँदै आएको भुक्तानी ढिलासुस्ती अन्त्य गरी किसानलाई आर्थिक रूपमा सुरक्षित बनाउने लक्ष्यका साथ यस्तो कदम चालिएको उल्लेख गरिएको छ ।
साथै, कार्यान्वयनका क्रममा कुनै समस्या आएमा वा तोकिएको समयभित्र भुक्तानी नपाएमा किसानहरूले आवश्यक प्रमाणसहित सिधै मन्त्रालयमा सम्पर्क गरी गुनासो दर्ता गर्न सक्ने व्यवस्था समेत गरिएको मन्त्रालयले जनाएको छ ।
PHOTO-2026-04-20-16-32-59_mopowa2
