सहकारी व्यवस्थापनमा नयाँ नेतृत्व

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गर्दै अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा प्युठानका डिल्लिराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सदस्यहरूमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै समितिलाई नयाँ नेतृत्वमार्फत पूर्णता दिइएको जानकारी दिए ।

पछिल्लो समय देशभरका दर्जनौँ सहकारी संस्थाहरू समस्याग्रस्त घोषणा भई हजारौँ बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको अवस्थामा सरकारले व्यवस्थापन समितिमा नयाँ टोली पठाएको हो ।

सरकारले नवनियुक्त नेतृत्वबाट समस्याग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापनलाई व्यवस्थित गर्दै बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिने अपेक्षा गरेको छ । साथै, सहकारी क्षेत्रमा देखिएको अव्यवस्था समाधान गरी विश्वास पुनःस्थापित गर्ने लक्ष्य समेत लिइएको जनाइएको छ ।