काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार निर्माण सेवा प्रालि तथा सम्बन्धित संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको खातामा रकम जम्मा गरी घुस लिने–दिने कार्य भएको पाइएको छ । सो रकमबाट संयुक्त रूपमा सम्पत्ति खरिद गरिएको समेत अनुसन्धानमा देखिएको छ ।
आयोगले जनाएअनुसार निर्माण सेवा प्रालिले एकल तथा संयुक्त उपक्रममार्फत पुरातत्व विभागसँग गरेको ठेक्का सम्झौतामा कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमध्ये करिब ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ घुस स्वरूप लिइएको आरोप लगाइएको छ ।
अनुसन्धान अनुसार भ्रष्टाचारबाट आर्जित रकम प्रयोग गरी जग्गा तथा सुन खरिद गर्नुका साथै विभिन्न व्यक्तिलाई भुक्तानी गरिएको समेत भेटिएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति लुकाउने, रूपान्तरण गर्ने र हस्तान्तरण गर्ने कार्य भएको निष्कर्ष आयोगले निकालेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै अभियुक्तविरुद्ध समान ४ करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
आयोगले भ्रष्टाचारविरुद्ध कानुनी कारबाहीलाई थप कडाइका साथ अघि बढाइने स्पष्ट पारेको छ ।
