मञ्जुश्री फाइनान्सको नाफामा मजबुत वृद्धि

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ ।

चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले वृद्धि भई ६८ करोड ४७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशतले बढेर ९ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशतले बढेर ८० करोड ३ लाख १४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०.२९ प्रतिशतले वृद्धि भई ३२ करोड ३३ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा फाइनान्सको इम्पेरमेन्ट चार्ज घटेर ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १४ करोड ५४ लाख रुपैयाँ थियो ।

त्यस्तै, चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ ।

समग्रमा, मञ्जुश्री फाइनान्सले नाफा, आम्दानी र सञ्चालन सूचकहरूमा सुधार गर्दै वित्तीय प्रदर्शनलाई अझ मजबुत बनाएको देखिन्छ ।