जगदम्बा इन्टरप्राइजेजमा सुधारको सम्भावना

काठमाडौं । नेपालमा स्टिलजन्य तथा निर्माण सामग्री उत्पादन तथा बिक्री गर्दै आएको जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यावसायिक प्रदर्शन पछिल्ला तीन वर्षदेखि क्रमिक रूपमा घट्दै गएको देखिएको छ ।

निर्माण क्षेत्रमा आएको सुस्तता र बजार मागमा कमीका कारण कम्पनीको कुल सञ्चालन आम्दानीमा लगातार गिरावट आएको हो ।

तथ्यांकअनुसार सन् २०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको कम्पनीको व्यापार सन् २०२४ मा ४.९८ प्रतिशतले घटेर १४ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको थियो । सन् २०२५ मा पनि गिरावट कायम रहँदै थप ०.६५ प्रतिशतले घटेर १४ अर्ब ५९ करोड ४० लाख रुपैयाँमा पुगेको छ । यसरी तीन वर्षमा कम्पनीको कुल व्यापार करिब ५.६० प्रतिशतले घटेको देखिन्छ ।

सञ्चालन नाफा दरमा पनि गिरावट आएको छ । सन् २०२४ मा ९.०५ प्रतिशत रहेको नाफा दर सन् २०२५ मा घटेर ६.४२ प्रतिशतमा झरेको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता पनि १.३५ गुणाबाट घटेर १.३२ गुणा कायम भएको छ ।

कम्पनीको ऋण–पुँजी अनुपात उच्च रहेको देखिन्छ, जुन ४.६४ गुणा पुगेको छ । नयाँ प्लान्ट विस्तारका लागि लिइएको ऋणका कारण पुँजी संरचनामा ऋणको हिस्सा बढेको हो ।

त्यस्तै, कुल ऋण र नगद प्रवाहको अनुपात सन् २०२४ मा ३४.७२ गुणा रहेकोमा सन् २०२५ मा बढेर ५२.२७ गुणा पुगेको छ, जसले ऋण चुक्ता क्षमतामा दबाब बढेको संकेत गर्छ ।

यसैबीच, केयर रेटिङ्स नेपालले कम्पनीलाई दीर्घकालीन कर्जातर्फ १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी’ रेटिङ तथा १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ‘केयर एनपी ए४ प्लस’ रेटिङ प्रदान गरेको छ ।

कच्चा पदार्थ आयातमा हुने विदेशी मुद्रा विनिमय जोखिमका कारण सन् २०२५ मा कम्पनीले ३ करोड ४० लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । बजारमा सुस्त माग, उच्च कार्यशील पुँजी आवश्यकता र कच्चा पदार्थको बढ्दो लागत कम्पनीका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।

यद्यपि कम्पनीले सञ्चालनमा ल्याएको नयाँ उत्पादन प्रणालीले भविष्यमा लागत घटाउने र नाफा सुधार गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले टीएमटी डन्डी, एमएस पाइप, जस्तापाता, शटर सामग्री, प्रिफेब संरचना तथा स्टिल पोल लगायतका उत्पादन गर्दै आएको छ ।