काठमाडौँ । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीहरूको सूचीमा स्थान बनाउने र आरएमबी ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ विस्तृत विकास रणनीति सार्वजनिक गरेको छ।
“१+४+४+५” फ्रेमवर्क नाम दिइएको उक्त योजना २१ अप्रिल २०२६ मा चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा घोषणा गरिएको हो। कार्यक्रममा अटोमोबाइल उद्योगका करिब ७०० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कम्पनीले आफ्नो रणनीतिअन्तर्गत चार प्रमुख व्यवसायिक क्षेत्र—सवारीसाधन, कम्पोनेन्ट, सेवा र नयाँ पुस्ताका उद्योगमा केन्द्रित हुने जनाएको छ। साथै, स्मार्ट, हरित (ग्रीन), वैश्विक (ग्लोबल) र कनेक्टेड प्रविधिमा रूपान्तरण गर्दै अगाडि बढ्ने लक्ष्य राखिएको छ।
यस योजनाले सन् २०३० सम्म विद्युतीय सवारी बिक्री, विदेश निर्यात, कुल आम्दानी, नाफा र ब्रान्ड मूल्यलाई दोब्बर बनाउने उद्देश्य लिएको छ। कम्पनीले स्मार्ट सवारी विकास, स्वच्छ ऊर्जा प्रणाली, अन्तर्राष्ट्रिय विस्तार, व्यवसायिक इकोसिस्टम सुदृढीकरण र कम्पनी मूल्य अभिवृद्धि जस्ता पाँच प्रमुख उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ।
चांगानका अध्यक्ष झु हुआरोङले कम्पनी नयाँ अवसर र परिवर्तनको युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै विश्वव्यापी साझेदारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
रणनीतिअन्तर्गत ग्रीन प्लानमार्फत कार्बन उत्सर्जन घटाउने, इन्टेलिजेन्ट प्लानमार्फत सुरक्षित र स्मार्ट ड्राइभिङ प्रविधि विकास गर्ने तथा भास्ट ओसियन प्लानमार्फत अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उपस्थिति विस्तार गर्ने लक्ष्य लिइएको छ।
कम्पनीले सन् २०२६ मार्चसम्म पहिलोपटक एक महिनामा १ लाखभन्दा बढी सवारी विदेशमा बिक्री गरेर आफ्नो वैश्विक विस्तारलाई तीव्रता दिएको छ।
सन् २०२५ मा चांगानले २.९१३ मिलियन सवारीसाधन बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशतले वृद्धि हो। यसमध्ये ११ लाखभन्दा बढी विद्युतीय सवारी रहेका छन्।
हाल कम्पनी ११८ देशमा १,१०० भन्दा बढी आउटलेटमार्फत सक्रिय छ। साथै, २२ वटा उत्पादन कारखाना सञ्चालनमा रहेका छन् भने २४,००० सदस्यीय अनुसन्धान टोलीले करिब २१,००० पेटेन्ट दर्ता गरिसकेको छ।
यो रणनीतिले चांगानलाई विश्व अटोमोबाइल बजारमा अझ प्रतिस्पर्धी र प्रविधिमैत्री कम्पनीका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
