काठमाडौँ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा नेपालमा ढुवानी लागतदेखि खाद्यान्न प्याकेजिङ सामग्रीसम्मको मूल्य बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।
नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालका अनुसार बोराको मूल्य दोब्बरले वृद्धि भएको छ। उनका अनुसार कच्चा पदार्थको आपूर्ति जारी रहे पनि ढुवानी खर्च बढेकाले उत्पादन लागतमा असर परेको हो।
अग्रवालले चामलको मूल्य गुणस्तरअनुसार करिब ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको जानकारी दिए। उनका अनुसार उद्योग स्तरमा प्रति बोरा चामलमा करिब ७० रुपैयाँसम्म लागत बढेको छ, जसको असर उपभोक्ता मूल्यमा पनि परेको छ।
पहिले २० देखि २५ रुपैयाँमा पाइने बोरा अहिले ४५ देखि ५० रुपैयाँसम्म पुगेको छ भने केही उद्योगले आवश्यक मात्रामा बोरा नै पाउन नसकेको अवस्था रहेको उनले बताए। युद्धका कारण ढुवानी प्रणाली प्रभावित हुँदा कच्चा पदार्थको ढुवानी लागत पनि बढेको छ।
ढुवानी खर्च उपत्यकामा अझ बढी बढेको व्यवसायीहरूको भनाइ छ। तराईका उद्योगमा कच्चा पदार्थ सजिलै पुग्ने भए पनि प्रशोधित खाद्य सामग्री उपत्यकासम्म ल्याउँदा लागत धेरै बढेको छ।
त्यस्तै, उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा उत्पादनमा समेत असर परेको छ। केही दालको मूल्य घट्ने क्रम रहे पनि समग्र बजारमा ठूलो मूल्य वृद्धि भने नभएको व्यवसायीहरूले बताएका छन्।
राधा कृष्ण मिलका सञ्चालक विभोर अग्रवालका अनुसार प्लास्टिक र बोराको मूल्य बढ्दा चामल उत्पादन पनि महँगो भएको छ। उनका अनुसार पहिले ३२ रुपैयाँ पर्ने बोरा अहिले ४५ रुपैयाँभन्दा बढी पुगेको छ र मागअनुसार आपूर्ति पनि सीमित छ।
उनका अनुसार भारतबाट आयात हुने धानको मूल्य पनि प्रति क्विन्टल करिब २०० रुपैयाँले बढेको छ। साथै, विराटनगरदेखि काठमाडौँसम्मको ढुवानी खर्च प्रति बोरा ९० रुपैयाँबाट बढेर १२० रुपैयाँसम्म पुगेको छ।
यसका कारण चामलको मूल्य बोरामा १५० देखि २०० रुपैयाँसम्म बढेको उद्योगीहरूले बताएका छन्। हाल बजारमा जिरा मसिनो चामलको मूल्य करिब २१०० रुपैयाँ प्रति बोरा पुगेको छ।
व्यवसायीहरूले ढुवानी लागत र अन्तर्राष्ट्रिय आपूर्ति अवरोधका कारण खाद्य वस्तुहरूको मूल्यमा थप चाप पर्न सक्ने सम्भावना रहेको बताएका छन्।
