जुम्लामा शैक्षिक निरन्तरता, आइतबार पनि विद्यालय खुला

  • Clock icon
    २०८३ बैशाख ११, शुक्रबार

जुम्ला । जुम्ला जिल्ला का आठ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्। कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले निर्धारित पाठ्यभार पूरा गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै आइतबार समेत नियमित पठनपाठन जारी राख्ने घोषणा गरेका हुन्।

कनकासुन्दरी गाउँपालिका ले वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गरेको जनाएको छ। पालिकाकी कावाध्यक्ष प्रेमकली बुढाका अनुसार सबै शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको छ।

त्यसैगरी सिञ्जा गाउँपालिका ले वैशाख ८ गतेदेखि नै सबै विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार शैक्षिक क्यालेन्डरअनुसार नियमित कक्षा सञ्चालन भइरहेको छ।

यस्तै तातोपानी गाउँपालिका ले वैशाख १५ गतेदेखि पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले नियमित पठनपाठनलाई प्राथमिकता दिइएको बताएका छन्।

नेपाल सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरे पनि यी तीन स्थानीय तहले आफ्नै शैक्षिक क्यालेन्डरअनुसार पहिले नै कक्षा सञ्चालन गरिरहेका छन्।

यसअघि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरिएको थियो। सो निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले सबै जिल्लामा निर्देशन समेत पठाइसकेको छ।

स्थानीय तहहरूले भने शैक्षिक गुणस्तर र पाठ्यक्रम पूरा गर्ने उद्देश्यले वैकल्पिक शैक्षिक तालिका अपनाएको जनाएका छन्।

  • Clock icon
    २०८३ बैशाख ११, शुक्रबार