काठमाडौं । हर्मोज जलसन्धिमा अमेरिका र इरानबीच चर्किएको तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस विवादका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा असर परेपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।
अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड तेल को मूल्य शुक्रबार बिहान १०६.८० डलर प्रतिव्यारेल पुगेको छ, जुन अघिल्लो बुधबारको तुलनामा करिब ५ प्रतिशतले बढी हो। दुई सातापछि पहिलो पटक तेलको मूल्य १०० डलरको विन्दुभन्दा माथि पुगेको हो। मूल्य वृद्धिसँगै अमेरिकी शेयर बजारमा समेत गिरावट देखिएको छ।
तनावको मुख्य केन्द्र हर्मोज जलसन्धि मा दुवै देशले एकअर्काका व्यावसायिक जहाज नियन्त्रणमा लिने घटनाले स्थिति थप जटिल बनाएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमार्फत यस जलसन्धि हुँदै जाने जहाजहरूलाई अमेरिकी नौसेनाको अनुमति आवश्यक पर्ने बताएका छन्। उनले अवरोध गर्ने पक्षविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएका छन्।
यसअघि अमेरिकी रक्षा मन्त्रालयले प्रतिबन्धित इरानी तेल बोकेको ट्याङ्कर नियन्त्रणमा लिएको घोषणा गरेको थियो। त्यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ले पनि दुई विदेशी मालबाहक जहाज नियन्त्रणमा लिएको जनाएको छ।
ग्रीस र पानामाका जहाज नियन्त्रणमा लिइएको इरानी दाबी भए पनि ग्रीसले भने आफ्नो जहाज क्याप्टेनकै नियन्त्रणमा रहेको स्पष्ट पारेको छ।
विश्वको करिब एक पाँचौ हिस्सा तेल तथा ग्यास ढुवानी हुने यो जलसन्धिमा हाल जहाज आवागमन उल्लेख्य रूपमा घटेको छ। हाल दैनिक औसत जहाज आवागमन १२९ बाट घटेर निकै कम स्तरमा पुगेको तथ्यांकले देखाएको छ।
इरानले आफ्नो जलमार्गमा जाने जहाजमा नियन्त्रण अधिकार दाबी गरिरहेको छ भने अमेरिका इरानी समुद्री व्यापारमाथि दबाब बढाउने रणनीतिमा रहेको छ। यस तनावले विश्व ऊर्जा बजारमा थप अस्थिरता बढ्न सक्ने विश्लेषकहरूले बताएका छन्।
