ग्लोबल आइएमई बैंकमा सन्तुलित वित्तीय प्रदर्शन

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको नाफामा सामान्य गिरावट देखिए पनि अन्य वित्तीय सूचकहरूमा मिश्रित सुधार र सन्तुलित प्रदर्शन देखिएको छ।

समीक्षा अवधिमा बैंकले ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको थियो।

आम्दानीतर्फ भने केही दबाब देखिएको छ। खुद ब्याज आम्दानी ३ दशमलव ५१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड ४४ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १२ अर्ब ३१ करोड ७१ लाख ९१ हजार रुपैयाँ थियो। त्यस्तै, सञ्चालन मुनाफा पनि ६ दशमलव ९३ प्रतिशतले घटेर ५ अर्ब ९० करोड ४६ लाख ७८ हजार रुपैयाँ कायम भएको छ।

यद्यपि, बैंकको गैर-ब्याज आम्दानीतर्फ सकारात्मक सुधार देखिएको छ। खुद फि तथा कमिसन आम्दानी १३ दशमलव ४८ प्रतिशतले बढेर २ अर्ब ६० करोड ७१ लाख ४६ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ३ अर्ब ११ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९१ करोड ४८ लाख ३२ हजार रुपैयाँ पुगेको छ, जसले नाफामा केही दबाब पारेको देखिन्छ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५ करोड ५४ लाख ७९ हजार रुपैयाँ रहेको छ, जसअनुसार वार्षिक प्रतिशेयर लाभांश क्षमता १० रुपैयाँ ५० पैसा देखिएको छ।

हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ अर्ब ९२ करोड ५८ लाख ९४ हजार रुपैयाँ सञ्चित छ।

जोखिम व्यवस्थापनतर्फ बैंकको खराब कर्जा ४ दशमलव ९८ प्रतिशतबाट घटेर ४ दशमलव ९७ प्रतिशतमा झरेको छ, जुन सकारात्मक संकेत मानिएको छ।

नाफा घटे पनि अन्य सूचकहरू सन्तुलित देखिएका छन्। बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५३ पैसा कायम भएको छ। साथै, आधार दर ६ दशमलव ९० प्रतिशतबाट घटेर ५ दशमलव १९ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३ दशमलव ८७ प्रतिशतबाट घटेर ३ दशमलव ५३ प्रतिशत कायम भएको छ।