बुद्ध जयन्तीमा एभरेस्ट स्कुलको सेवा अभियान

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर–२ मिबाछेंले बुद्ध जयन्तीको पावन अवसरमा मुठीदान कार्यक्रम भव्य र भावनात्मक वातावरणमा सम्पन्न गरेको छ। वि.सं. २०७३ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि विशेष सहभागितासहित आयोजना गरिएको हो।

कार्यक्रममा भक्तपुरस्थित मुनिविहारका भिक्षु तथा श्रामणेरहरूको गरिमामय उपस्थिति रहेको थियो। महागुरु, गुरु तथा श्रामणेर गरी २९ जना अतिथि र ६ जना सेवक–सेविकाको सहभागितासहित कार्यक्रम सम्पन्न भएको हो। एभरेस्ट इङ्लिस स्कुल तथा भगिनी संस्था एभरेस्ट भक्तपुर स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेश प्रस्तुत गरिँदा विद्यालय परिसर शान्त, गम्भीर र करुणामय वातावरणमा रूपान्तरण भएको सहभागीहरूले अनुभव गरेका थिए। भिक्षुहरूको प्रत्यक्ष उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र आध्यात्मिक बनाएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकामा दान, सेवा र संवेदनशीलताको भावना विकास गर्नु आजको आवश्यकता भएको बताए। उनले “एकजनाले दिए मुठी, धेरैले दिए मुरी” भन्ने सन्देशले सानो योगदानले पनि ठूलो परिवर्तन सम्भव हुने उल्लेख गरे।

यस अवसरमा भक्तपुर मुनिविहारका विपस्वी महास्थाविरसहित देश–विदेशबाट आएका गुरुहरूले बुद्ध दर्शनसम्बन्धी प्रेरणादायी धम्मोपदेश प्रस्तुत गरेका थिए, जसलाई उपस्थित सबैले ध्यानपूर्वक श्रवण गरेका थिए।

कार्यक्रमबाट संकलित २० हजार ९७० रुपैयाँ नगदसहित ४ मुरी चामल, २ बोरा बिस्कुट, १ बोरा साबुन, १ बोरा दाल, १ बोरा चिउरा, २ बोरा नुन, १५ दर्जन कापी, १५ दर्जन कलम तथा पेन्सिल र फलफूल लगायतका सामग्री भक्तपुर मुनिविहारलाई हस्तान्तरण गरिएको छ।

  • Clock icon
    २०८३ बैशाख १८, शुक्रबार