आजको खेलमा नेपालले युएईविरुद्ध रोमाञ्चक जित हात पार्यो

दीपेन्द्रसिंह ऐरीको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा यूएईलाई पराजित गर्दै नेपालले आइसीसी विश्वकप लिग–२ मा दोस्रो जित दर्ता गरेको छ।

शुक्रबार भएको सिरिजको तेस्रो खेलमा नेपालले यूएईमाथि डीएलएस मेथडमा  ६ रनको रोमाञ्चक जित हात पारेको हो। नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो। योसँगै नेपालले जारी सिरिजमा ४ अंक जोडेको छ।

यसअघि गत बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १०२ रनले पराजित भएको हो।
आज शुक्रबार नेपालले यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पाएको छ। यूएईले निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सक्यो।

यूएईका लागि मुहम्मद सद्दाकले सर्वाधिक ६५ रन बनाए। ७२ बलमा ४ चौका र २ छक्का सहयोगमा ६५ रन बनाएका मुहम्मद सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।

हरप्रित सिंहले ४१ र आर्याशं शर्माले ३३ रन थपे। अदीप उस्मानी १४ रनमा आउट भए।

यूएईलाई कम स्कोरमा रोक्न सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट आफ्नो नाममा गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार पारेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक पूरा गरे। उनले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरेका थिए।

ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्यु गिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमै शतक हानेका थिए। शतक पूरा गरेसँगै दीपेन्द्र रन आउट भए।

ओपनर विनोद भण्डारीले ५६ रन बनाए। उनले ७९ बलमा ७ चौका प्रहार गर्दै ओडीआईमा सम्झनलायक कमब्याक गरेका छन्। विनोदले चार वर्षपछि ओडीआई क्रिकेट खेलका हुन्। उनले पछिल्लो पटक सन् २०२२ मा स्कटल्यान्डविरुद्ध लिग–२ खेलेका थिए।

योसँगै विनोदले नेपालका लागि ओडीआई खेल्ने अनुभवी खेलाडी बन्दै शक्ति गौचनको कीर्तिमान आफ्नो नाममा गरेका छन्। यसअघि सन् २०१८ मा शक्तिले ३४ वर्षको उमेरमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए। विनोद अहिले ३६ वर्षका भए।

त्यस्तै, गुल्सन झा ४४ रन बनाउँदा क्याच आउट भए। छैटौँ विकेटका लागि दीपेन्द्र र गुल्सनले १०२ रनको साझेदारी गरे।

कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका सहयोगमा ३९ रन बनाउँदा क्याच आउट हुन पुगे। ओडीआईमा डेब्यु गरेका ओपनर अर्जुन कुमाल ११ रन बनाउँदै पेभेलियन फर्के। आरिफ शेखले ११ रन नै बनाए। भीम सार्की भने शून्य रनमा नै आउट भए।

यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले समान दुई विकेट लिए। हैदर अली र खुजैमा तनविरले समान एक विकेट आफ्नो नाममा गरे।

सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार ओमानविरुद्ध फेरि खेल्नेछ।