आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसम्मिलित त्रिकोणात्मक सिरिजमा आज नेपाल र यूएई भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल शुक्रबार बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको घरेलु टोली नेपाल लगातार दोस्रो जित हात पार्न चाहन्छ। लिग–२ को शीर्ष ६ मा रहेर एक दिवसीय वरियता जोगाउनका लागि नेपाललाई जितको आवश्यक छ।
सिरिजको आफ्नो दोस्रो खेलमा गत बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएलएस मेथडमा १ सय २ रनले पराजित भएको थियो।
नेपाल आजको खेलमा यूएईलाई हराउँदै घरेलु मैदानमा जारी सिरिजमा ४ अंक बटुल्न चाहन्छ। तर पहिलो खेलमा नेपालसँग पराजित भएको युएई दोस्रो खेलमा भने घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा हुनेछ।
जारी सिरिजमा शिर्षक्रमका ब्याटर चल्न नसक्दा नेपालले कठिनाइको सामना गरिरहनु परेको छ। युएईविरुद्ध पहिलो खेलमा पनि ब्याटिङमा उत्कृष्ट प्रर्दशन गर्न नसकेको नेपालको बलरहरु चल्दा नेपालले जित हात पारेको थियो।
ओमानविरुद्धको खेलमा भने नेपालको बलिङ र ब्याटिङ दुवै साइडबाट खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन्। यद्यपी सिरिजका दुबै खेलमा दीपेन्द्रसिंह ऐरिले भने आफ्नो भुमिकालाई न्याय दिइरहेका छन्।
जारी सिरिजमा नेपालका सामु अब ४ अंक जोड्ने मौका छ। नेपाल आजको खेलमा युएईलाई हराउँदै र अन्तिम खेलमा ओमानसँग हारको बदला लिदै ४ अंक जोड्ने रणनितिमा छ।
