आर्थिक लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेका आर्थिक लक्ष्यहरू महत्वाकांक्षी भए पनि निजी क्षेत्रसँग सहकार्य भएमा हासिल गर्न सकिने बताएका छन ।

रास्वपा सभापति रवि लामिछानेसँग भएको निजी क्षेत्रको भेटघाटका क्रममा उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन कर प्रणालीलाई सरल, सहज र आकर्षक बनाउनुपर्नेमा जोड दिए ।

भेटमा कार्यवाहक अध्यक्ष मल्होत्राले नेपालको समृद्धि र जनताको हितका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नीति निर्माणमा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।
त्यसैगरी, हाल चर्चामा रहेको अधिकतम खुद्रा मूल्य सम्बन्धी व्यवस्थालाई आयातकै समयमा भन्सार बिन्दुमै लागू गर्नु उपयुक्त नहुने उनले बताए । उनले कार्यान्वयनअघि आवश्यक नीतिगत तथा प्राविधिक सुधार गर्नुपर्ने सुझाव समेत दिए ।

मल्होत्राले विद्यमान पुराना कानुनहरूले आर्थिक गतिविधिमा अवरोध सिर्जना गरेको उल्लेख गर्दै जग्गा हदबन्दी नीति तथा रियल इस्टेटसम्बन्धी प्रावधानहरू परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए । यस्ता नीतिहरूले नयाँ उद्योग स्थापना तथा आधुनिक कृषिको विकासमा बाधा पु¥याइरहेको उनले बताए ।

दीर्घकालीन रूपमा घाटामा रहेका उद्योगहरूलाई उद्देश्य परिवर्तन गरी सोही जग्गामा नयाँ उद्योग सञ्चालन गर्न अनुमति दिनुपर्ने माग पनि उनले राखे । हालको हदबन्दी सम्बन्धी कानुनी व्यवस्थाले यस्तो परिवर्तन गर्न संभव नभएको उनले बताए ।

उनका अनुसार करिब ३५ देखि ४० प्रतिशत अर्थतन्त्र अझै अनौपचारिक क्षेत्रमा सञ्चालन भइरहेको छ । यसलाई औपचारिक बनाउने उद्देश्यले भन्सार महसुल, आयकर, जग्गा दर्ता शुल्क तथा उत्पादन शुल्क (एक्साइज ड्युटी) उल्लेखनीय रूपमा घटाउनुपर्ने सुझाव उनले दिए ।

निजी क्षेत्रमाथि रहेको गिरफ्तारीको त्रास अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने भए पनि सम्बन्धित पक्षको भनाइ सुनेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

त्यस्तै, सुकुम्बासी तथा तथाकथित सुकुम्बासीद्वारा अतिक्रमण गरिएका सरकारी जमिन खाली गराउने सरकारी कदमलाई सकारात्मक रूपमा लिँदै उनले धन्यवाद व्यक्त गरे। साथै, अघिल्ला स्थानीय नेतृत्व र असामाजिक तत्वको संलग्नतामा निजी क्षेत्रका जग्गासमेत अतिक्रमणमा परेको उल्लेख गर्दै त्यस्ता जग्गा फिर्ता गराउन प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरे ।