महासंघको निर्वाचन रोक्न माग गर्दै निवेदन दर्ता, कानुनी प्रक्रिया उल्लंघनको आरोप

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को आगामी बैशाख २२ गतेका लागि तय गरिएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै निर्वाचन रोक्न माग गरिएको छ । यस सम्बन्धमा महासंघको निर्वाचन शाखामा औपचारिक निवेदन दर्ता भइसकेको स्रोतले जनाएको छ ।

निवेदनमा उल्लेख भएअनुसार निर्वाचन समितिले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मतदाता नामावली प्रकाशन गरिसकेको भए पनि उक्त नामावली तयार गर्दा महासंघको विधान २०४९ विपरीत कार्य भएको आरोप लगाइएको छ । विशेषगरी द्विराष्ट्रिय सदस्यता नवीकरण सम्बन्धी प्रक्रिया विधानको दफा १८ को उपदफा (१), (२) (क) र (ख) बमोजिम पूरा नगरिएको दाबी गरिएको छ ।

त्यस्तै, विधानको दफा १७ (घ) अनुसार लगातार तीन वर्षसम्म सदस्यता नवीकरण नगरेमा सदस्यता निलम्बन वा खारेजी हुने स्पष्ट व्यवस्था रहे पनि १० बर्षदेखि नविकरण नगरिएका र महासंघको विधान अनुरुप अयोग्य संस्थालाई पनी प्रावधान बेवास्ता गर्दै सदस्यता नवीकरण गराइएको र त्यस्ता सदस्यलाई समेत निर्वाचनमा सहभागी गराइएको आरोप निवेदनमा उल्लेख गरिएको छ ।

निवेदनकर्ताहरूले यस्तो कार्यले निर्वाचनको निष्पक्षता र वैधानिकतामाथि गम्भीर प्रश्न उठाएको भन्दै द्विराष्ट्रिय महासंघका तर्फबाट मतदान गर्न नदिन र सम्पूर्ण निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।
यस विषयमा महासंघभित्रै विवाद चुलिँदै गएको संकेत देखिएको छ । कानुनी प्रक्रिया मिचेर निर्वाचन अगाडि बढाइए त्यसले संस्थागत विश्वसनीयतामाथि असर पर्ने देखिन्छ ।

महासंघको निर्वाचन शाखाले उक्त निवेदनमाथि के निर्णय लिन्छ भन्ने विषयले महासंघको आगामी नेतृत्व चयन प्रक्रिया नै प्रभावित हुने देखिएको छ । यदि माग अनुसार निर्वाचन स्थगित गरिएन भने यो विवाद थप चर्किने र कानुनी तथा संस्थागत संकट निम्तिने सम्भावना समेत प्रबल देखिएको छ ।