काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् ।
सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका थिए।
बैठकपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुखले बधाई दिनकोसाथै संसदीय काम गर्दै जाँदा आफूहरुसँगको सहकार्यको भूमिकाको अपेक्षा व्यक्त गरेको जानकारी दिइन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा कुनै छलफल नभएको उनले बताइन् ।‘प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर वधाई दिनुभयो । उहाँले संसदीय काम गर्दै जाँदा हामीसँग सहकार्यको भूमिकाको अपेक्षा गर्नुभयो । आज कुनै एजेण्डा थिएन । आफ्नो कार्यालय सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भनिन् ।
उनको अनुसार भोलिसम्म संसद बैठक कहिले बस्ने भन्ने विषयमा सूचना आउने छ । त्यस्तै सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले पनि सदनमा आफ्नो काम कारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताइन् । अध्यादेशको विषयमा विपक्ष दलबाट आपत्तिजनक केही कुराहरु बैठकमा नउठेको उनले जानकारी दिए ।
