टीयू क्रिकेट मैदानको सम्झौता नवीकरणमा सरकारकै भरोसामा क्यान, प्रक्रिया नै अघि बढाएन

नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालय (टीयू)बीचको २५ वर्षे सम्झौता सकिन अब केही दिन मात्र बाँकी छ।

सम्झौताको मिति सकिने समय नजिकिँदै जाँदा टीयूकै जग्गामा बनेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानबारेको अन्योल भने झनै गहिरिएको छ। यसको नवीकरण हुने नहुने कुराले चासो बढाएको हो।

त्रिभुवन विश्वविद्यालयले अध्ययनमा समस्या भएको भन्दै सम्झौता नवीकरण नगर्ने स्पष्ट अडान उसले जाहेर गरिसकेको अवस्था एकातिर हुँदा सरकारको ठूलो लगानी परेकाले सम्झौता नवीकरण हुने आशा र दाबीमा क्यान देखिन्छ।

यस्तोमा केही दिनअघि सरकारका प्रवक्ता तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि टीयू क्रिकेट मैदान नभत्किने आश्वासन दिएकाले यो विषय केही समयलाई मत्थर भएको थियो। मन्त्री पोखरेलले सम्झौता नवीकरण हुने भरोसा दिलाएका छन्।

तर त्रिभुवन विश्वविद्यालय भने सम्झौता नवीकरण नगर्ने आफ्नो अडानमा कायम छ। यसअघि गत चैत २३ गते बसेको क्यानको बैठकले सम्झौता नवीकरणका लागि प्रस्ताव पठाउने निर्णय गरेको थियो।

तर यही वैशाख मसान्तमा सम्झौता सकिँदै गर्दा क्यान चुपचाप छ। उसले नवीकरणको लागि आफूले गर्नुपर्ने गृहकार्य र प्रक्रिया नै अगाडि बढाएको छैन।

क्यान प्रवक्ता छुम्बी लामाले भने, ‘यो सरकारको चासो र चिन्ताको कुरा हो, हामी यसलाई चाँडै टुंग्याउँछौँ भन्नुभएको छ। अझै १०,१५ दिन सम्झौताको समय बाँकी रहेकाले समय आएपछि गछौँ।’

टीयूमा अहिले राजीनामाको कुरा पनि रहेकाले पत्र कसलाई पठाउने भन्ने अवस्था रहेको उल्लेख गरे।

सरकारको डेढ अर्ब लगानी भएको कारण सम्झौता नवीकरण हुनेमा उनी आशावादी देखिन्छन्।

उनको भनाइलाई मान्ने हो भने टीयू मैदानको स्तरोन्नतिका लागि सरकारको लगानी भएकाले टीयुले सम्झौता नवीकरण गर्नुपर्नेछ।

क्यानले यसअघि राष्ट्रिय खेलकुद परिषद्, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमार्फत त्रिभुवन विश्वविद्यालयलाई सम्झौता नवीकरणका लागि प्रस्ताव पठाउने तयारी गरेको थियो।

तर त्रिभुवन विश्वविद्यालय भने सम्झौता नवीकरणका लागि प्रस्ताव आएपछि मात्र यस विषयमा छलफल गर्ने तयारीमा छ।

क्यानले ३ दशक टीयू मैदान लिजमा लिएर उपभोग गरिसकेको छ। सुरुवातमा ५ वर्षको सम्झौता र थप २५ वर्ष गरी क्यानले ३० वर्ष टीयूसँग मैदानको जग्गा भाडामा लिएको थियो।

टीयू मैदान उपभोग गरिरहँदा रंगशालाको नाममा क्यानले ७६ रोपनी ४ आना ३ दाम जग्गा मिचेको छ। टीयूले क्यानसँग सम्झौता नवीकरण नगर्ने भन्दै जमिन फिर्ता गर्न क्यानलाई पत्र समेत केही दिनअघि काटिसकेको छ।

टीयू मैदानको जग्गा फिर्ता मागेपछि सामाजिक सञ्जालमा त्रिविको विरोध भएको थियो। चौतर्फी विरोधपछि टीयूले सम्झौता नवीकरण गर्न सकिने बताएको छ। त्रिविका पूर्वउपकुलपति प्रा।डा। दीपक अर्यालले नै नयाँ सम्झौता गर्नेबारे छलफल भएको बताएका छन्। उनले केही दिनअघि मात्रै राजीनामा दिइसकेका छन्।

पढाइलाई असर गरे पनि रंगशाला बनाउन सरकारले ठूलो लगानी गरेकाले नयाँ सम्झौता गर्ने सोच बनाएको उनको भनाइ थियो।

टीयू मैदान सम्झौता नवीकरणको टुंगो नलाग्दा दोस्रो चरणमा हुने भनिएको काम अझै सुरु हुन सकेको छैन। पहिलो चरणको काम सम्पन्न हुँदा १० हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेको छ।

सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँको बजेट समेत सुनिश्चित गरिसकेको छ।

जग्गाको सुनिश्चितता भए दोस्रो चरणको काम सुरु गरेर आगामी २ वर्षभित्र सम्पूर्ण निर्माण सक्ने लक्ष्यमा सहरी विकास मन्त्रालय छ।

तर सम्झौता नवीकरणबारे क्यानको तर्फबाट औपचारिक प्रस्ताव नजाँदा दोस्रो चरणको काम अन्यौलमै छ।

 

 

नेपालखबरबाट साभार