काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन्। नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरका क्रममा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको नबिल बैंकले जनाएको छ। तीमध्ये जटिल अवस्थाका ६ जना बिरामीलाई थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ।
शिविर सञ्चालनअघि मधेश प्रदेशका ६ जिल्लाका २७ वटा स्थानीय तहमा स्क्रिनिङ क्याम्प सञ्चालन गरिएको थियो। फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले ती क्षेत्रमा पुगेर बिरामीहरूको प्रारम्भिक विवरण संकलन गरेका थिए।
नबिल बैंकले दुर्गम क्षेत्रका जलनपीडितलाई विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नेपालमा जलनसम्बन्धी बिरामीहरूले अझै पनि पर्याप्त उपचार नपाउने अवस्था रहेको उल्लेख गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो शिविर सञ्चालन गरिएको बताए।
बैंकका अनुसार आगामी वैशाख २५ देखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यस्तै प्रकारका शिविर सञ्चालन गरिनेछ।
शिविरमा फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितको विशेषज्ञ टोलीले जलनपीडितहरूको शल्यक्रिया गरेका थिए। डा. राईले शिविरमार्फत अपेक्षाभन्दा बढी सेवा दिन सफल भएको अनुभव सुनाउँदै भविष्यमा नारायणी अस्पतालमै जलनसम्बन्धी उपचार सेवा विस्तार हुने आशा व्यक्त गरे।
नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले जलनका कारण लामो समयदेखि असहज जीवन बिताइरहेका बिरामीहरूले उपचारपछि सहज जीवनयापन गर्न थालेकोमा खुसी व्यक्त गरे। उनले शिविरले बिरामीहरूको व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
नबिल बैंकले यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि निःशुल्क जलन शिविर सञ्चालन गरिसकेको छ। गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा आयोजित शिविरबाट ६५ जना र चैत २७ देखि कर्णाली प्रदेशमा सञ्चालन गरिएको शिविरबाट १९४ जनाले सेवा प्राप्त गरेका थिए।
नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा परिचित नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। नबिल एसएसईमार्फत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सिर्जनामा योगदान पुर्याउने उद्देश्यलाई बैंकले प्राथमिकतामा राखेको जनाएको छ।
