महासंघमा नयाँ समीकरणको उदय

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मुख्य निर्वाचन सम्पन्न भएसँगै अब सबैको ध्यान वरिष्ठ उपाध्यक्ष चयनतर्फ केन्द्रित भएको छ । संशोधित विधान कार्यान्वयनमा आएको पहिलो वर्ष भएकाले यसपटकको प्रक्रिया विगतभन्दा फरक र थप रोचक बनेको छ ।

यसअघि प्रत्यक्ष निर्वाचनमार्फत चयन हुँदै आएको वरिष्ठ उपाध्यक्ष अब भने कार्यसमितिभित्रबाटै चयन हुने व्यवस्था लागू भएको छ । नयाँ विधानअनुसार अध्यक्षसहित निर्वाचित कार्यसमितिले नै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ । आवश्यक परे निर्वाचन हुन सक्ने भए पनि त्यसमा मतदान अधिकार केवल केन्द्रीय कार्यसमिति सदस्यहरूमै सीमित रहनेछ ।

यो व्यवस्थाले अध्यक्षलाई आफू अनुकूल नेतृत्व टोली निर्माण गर्न सहज बनाएको महासंघभित्र चर्चा छ । यही कारण अहिले वरिष्ठ उपाध्यक्ष चयनलाई महासंघको आगामी शक्ति–सन्तुलनसँग जोडेर हेरिएको छ ।

यसअघि वरिष्ठ उपाध्यक्षको आकांक्षा सार्वजनिक गरिसकेका हेमराज ढकालको सम्भावना भने कमजोर बनेको छ । निवर्तमान अध्यक्ष चन्द्र ढकालको समर्थनमा चुनावी मैदानमा उत्रिएको समूहले निर्वाचनमा अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि उनी तत्कालका लागि महासंघको मुख्य नेतृत्व दौडबाट बाहिरिएको आकलन गरिएको छ ।

महासंघभित्र लामो समयदेखि वरिष्ठ उपाध्यक्षका आकांक्षी मानिएका भाष्करराज राजकर्णिकार र किशोर प्रधानको नाम पनि चर्चामा आए तापनि यसपटक उनीहरूको सम्भावना बलियो देखिएको छैन । विशेषगरी, पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेलाई पदमुक्त गराउने घटनामा भाष्करको भूमिका रहेको आरोप विगतदेखि उठ्दै आएको थियो । पछि अदालतबाट पाण्डेले सफाइ पाएपछि उक्त प्रकरणलाई धेरैले बदनियतपूर्ण कदमका रूपमा बुझेका थिए ।

यतिबेला प्रदीपजंग पाण्डेका छोरा प्रबलजंग पाण्डे महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष अञ्जन श्रेष्ठको प्यानल निर्माणदेखि निर्वाचन रणनीति तय गर्नेसम्म उनको सक्रिय भूमिका रहेको बताइन्छ । महासंघको नयाँ कार्यसमितिमा अञ्जन पक्षको स्पष्ट बहुमत रहेकाले भाष्कर वा उनको समूहको प्रभाव कमजोर भएको बुझाइ व्यवसायीहरूमा छ ।

अहिले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा मुख्यतः दुई नाम अगाडि आएका छन्—पूर्व उपाध्यक्ष सुरकृष्ण वैद्य र रामचन्द्र संघाई ।

अध्यक्ष अञ्जन श्रेष्ठ सुरकृष्ण वैद्यलाई वरिष्ठ उपाध्यक्ष बनाउन सकारात्मक रहेको चर्चा महासंघभित्र छ । तर प्रबलजंग पाण्डेसहित केही पदाधिकारी र सदस्यहरूले भने रामचन्द्र संघाईको पक्षमा मत राख्दै आएका छन् ।

संघाई तीन वर्षअघिको निर्वाचनमा अञ्जन श्रेष्ठका प्रतिस्पर्धी थिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको तयारी भएको थियो । त्यतिबेला अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.७१ प्रतिशत र रामचन्द्र संघाईले ३०.४६ प्रतिशत मत प्राप्त गरेका थिए ।

सबैभन्दा कम मत ल्याएका संघाई बाहिरिएपछि दोस्रो चरणमा अञ्जन र उमेशलालबीच प्रतिस्पर्धा तय भएको थियो । तर मतदानअघि नै उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेपछि अञ्जन निर्विरोध वरिष्ठ उपाध्यक्ष बनेका थिए । यही घटनाले उनलाई वर्तमान अध्यक्ष बन्ने बाटो खोलेको मानिन्छ ।

यसकारण पनि अञ्जन श्रेष्ठ आफ्नो पुरानो प्रतिस्पर्धी संघाईभन्दा विश्वासपात्र सुरकृष्ण वैद्यलाई अगाडि ल्याउन इच्छुक रहेको विश्लेषण महासंघभित्र भइरहेको छ । यद्यपि, बीचको सहमतिको विकल्पका रूपमा उमेशलाल श्रेष्ठको नाम पनि चर्चामा आउन थालेको छ । तीन वर्षअघिको समर्थनको ‘राजनीतिक गुन’ फर्काउने रूपमा अञ्जनले उमेशलाई वरिष्ठ उपाध्यक्ष बनाउन सक्ने अनुमान एकथरी व्यवसायीको छ ।

औषधि व्यवसायसँग जोडिएका उमेशलालप्रति प्रबलजंग पाण्डे निकट समूह पनि सकारात्मक रहेको बताइन्छ । त्यसैले अन्तिम समयमा समीकरण बदलिन सक्ने सम्भावनालाई नकारिएको छैन ।

महासंघभित्र केही व्यवसायीहरूले सामुदायिक सन्तुलनको प्रश्न पनि उठाउन थालेका छन् । मारवाडी समुदायबाट रामचन्द्र संघाईलाई अघि सार्ने प्रयास भइरहे पनि अध्यक्ष अञ्जन श्रेष्ठले नेवार समुदायभित्रैबाट वरिष्ठ उपाध्यक्ष चयन गर्न सक्ने बुझाइ पनि छ । त्यस्तो अवस्थामा सुरकृष्ण वैद्य, उमेशलाल श्रेष्ठ वा अन्य कुनै नाम अगाडि आउन सक्ने चर्चा छ ।

महासंघको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक बिहीबार सम्पन्न भइसकेको छ । महासंघ स्रोतका अनुसार अब एक साताभित्र अर्को बैठक बसेर पदाधिकारी चयन र सदस्य मनोनयन प्रक्रिया अघि बढ्ने सम्भावना छ । सोही बैठकबाट कोषाध्यक्ष चयनसमेत हुन सक्ने बताइएको छ ।

यसअघि कोषाध्यक्ष भरतराज आचार्यलाई पनि वरिष्ठ उपाध्यक्षको सम्भावित दाबेदारका रूपमा हेरिएको थियो । तर यसपटकको निर्वाचन ‘अञ्जन श्रेष्ठ बनाम चन्द्र ढकाल’ को रूपमा देखिएकाले चन्द्र ढकाल निकट मानिएका आचार्यको सम्भावना कमजोर बनेको विश्लेषण गरिएको छ ।

महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष चयनका लागि तीनवटा ढोका खुला राखेको छ । पहिलो, पूर्वपदाधिकारीमध्ये अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा कोषाध्यक्ष भइसकेका व्यक्तिहरू उम्मेदवार बन्न सक्नेछन् । दोस्रो, हाल निर्वाचित कार्यसमितिका सदस्यमध्ये कम्तीमा तीन कार्यकाल सदस्य भइसकेका व्यक्तिले उम्मेदवारी दिन पाउनेछन् । तेस्रो, अध्यक्षले मनोनित गर्ने सात सदस्यभित्रबाट पनि योग्य व्यक्तिलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाउन सकिने व्यवस्था छ ।

यही विषयलाई लिएर महासंघभित्र अहिले छलफल तीव्र बनेको छ । एक पक्षले मनोनित सदस्यलाई समेत मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने मत राखेको छ भने अर्को पक्षले निर्वाचित सदस्यहरूले मात्रै पदाधिकारी चयन गर्नुपर्ने अडान लिएको छ ।

यद्यपि, महासंघको वर्तमान संरचना अध्यक्षकेन्द्रित भएकाले अन्तिम निर्णयमा अध्यक्ष अञ्जन श्रेष्ठको भूमिका निर्णायक रहने देखिन्छ । विधानमै सबै पदाधिकारी र सदस्य अध्यक्षप्रति जवाफदेही हुने व्यवस्था गरिएकाले वरिष्ठ उपाध्यक्षदेखि कोषाध्यक्ष र मनोनित सदस्यसम्मको टुंगो अध्यक्षको प्राथमिकताअनुसार अघि बढ्ने आकलन गरिएको छ ।

  • Clock icon
    २०८३ बैशाख २५, शुक्रबार